काठमाडौं– सर्वोच्च अदालतको असार २८ गतेको फैसलाबाट पुनःस्थापित भएको संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको आठौं अधिवेशनको पहिलो बैठक साउन ३ गते बसेको थियो। सोही दिन नवनियुक्त प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिए। सर्वोच्च अदालतको संवैधानिक इजलासबाट दोस्रोपटक पुनःस्थापित भएको संसद् प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबाहेक अरु उल्लेख्य कुनै काम नगरी सोमबार अन्त्य भएको छ।
सोमबारसम्म संसद अधिवेशन सुरु भएको २९ दिन भएको थियो जसमध्ये ९ दिनमा १० पटक बैठक बस्यो, २० घण्टा १५ मिनेट ससंदीय काम कारबाही भए।
यो अधिवेशनमा कुनै पनि विधेयकमाथि छलफल भएर पारित नभएको संसद् सचिवालयले स्वीकार गरेको छ। सरकारले बजेटका केही अध्यादेश र अघिल्लो सरकारले ल्याएको केही अध्यादेशहरु पेश गरेपनि त्यसको प्रतिस्थापन विधेयकसमेत दर्ता गराएन।
सरकारले प्रतिस्थापन विधेयकसमेत दर्ता नगरी बर्खे अधिवेशन अन्त्य गरेपछि यी अध्यादेशहरु अलपत्र भएका छन्। त्यस्तै, सरकारले अब फेरि अध्यादेश ल्याउने चर्चा पनि सुरु भएको छ। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश तत्काल ल्याउने आशंका एकथरीले व्यक्त गरेका छन्। त्यस्तै, अन्य काम गर्नका लागि अध्यादेश नै ल्याउने आशंका बढेको छ।
अब सरकारले ५ महिनासम्म संसद् अधिवेशन नबोलाए पनि हुन्छ। त्यसकारण यस अवधिमा राज्य सञ्चालनका लागि प्रधानमन्त्री देउवाले पनि अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीकै बाटो (अध्यादेशको बाटो) समाउने सम्भावना कतिपयले देखेका छन्।
कति अध्यादेश पेश भए?
अघिल्लो सरकारले जारी गरेका ४ थान अध्यादेश सरकारले पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा पेश गर्यो। बजेटका सहित अन्य अध्यादेश प्रतिनिधि सभाको पहिलो बैठकमा पेश भएका थिए।
यो अधिवेशनमा ‘आर्थिक अध्यादेश’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश’, ‘विनियोजन अध्यादेश’, ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश’, ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश’, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन)’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन), ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)’, ‘नेपाल नागरिकता (पहिलो संशोधन)’, ‘कोभिड–१९ संकट व्यवस्थापन’, ‘औषधि (तेस्रो संशोधन)’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन)’, ‘रेल्वे’ र ‘शपथ’ सम्बन्धी अध्यादेश संसदमा पेश भए।
सातौं अधिवेशनमा दर्ता भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश’ सदनमा प्रस्तुत भएको छ। सातौं अधिवेशनमा नै दर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश’ साउन ३ गतेको प्रतिनिधि सभा बैठकमा सरकारबाट फिर्ता भएको जानकारी गराइएको थियो।
प्रतिनिधि सभाको चालू अधिवेशनमा कुनै पनि नयाँ विधेयक दर्ता भएनन्। राष्ट्रिय सभामा उत्पत्ति भइ पारित भएर आएका ७ वटा विधेयकहरुको सन्देशमात्र पेश भयो।
प्रतिस्थापन विधेयक नै पेश भएन
अघिल्लो सरकारले ल्याएका अध्यादेश प्रतिनिधि सभाको पहिलो बैठकमा पेश भएपनि त्यसको प्रतिस्थापन विधेयक पेश नभई संसद अन्त्य भयो। अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिनभित्र संसद् सचिवालयमा दर्ता गर्नुपर्छ।
तर, अधिवेशन नै अत्य भएकाले अब दुई महिनाभित्र अर्को अधिवेशन बोलाएबाहेक त्यसो गर्न सम्भव देखिँदैन। सरकारले ६ महिनाभित्र बोलाउने सुविधा पाउने भएकाले तत्कालै हिउँदे अधिवेशन नबोलाउन पनि सक्छ। सरकारले अधिवेशन नबोलाएमा बजेटदेखि अन्य अध्यादेशहरु स्वतः निस्क्रिय हुनेछन्।
सरकारले फेरि अध्यादेशको रुपमा यसलाई ल्याउनुपर्ने छ। यो अभ्यास फेरि पूर्वप्रधानमन्त्री ओलीकै अभ्यासको पुनरावृत्ति हुनेछ।
रुलिङ लगत्तै अधिवेशन अन्त्य
सोमबारको बैठकमा सांसदहरुले अफगानिस्तानमा भएको घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराए। लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले नेपाली नागरिकको उद्धार र अवस्थाका बारेमा प्रतिनिधि सभालाई जानकारी गराउन सरकारलाई रुलिङ गरे।
उनले गरेको रुलिङको जवाफ सरकारले दिन नपाउँदै अधिवेशन अन्त्य भएको छ। संसद्को अधिवेशन अन्त्य भएसँगै सभामुखको रुलिङ स्वतः निस्क्रिय भएको छ।
३७ विधेयक अलपत्र
संविधान जारी भएपछि २०७४ को आम निर्वाचनपछि २०७४ फागुन २१ गतेदेखि संघीय संसद्को पहिलो अधिवेशन सुरु भएको थियो। सो समयदेखि हालसम्म विधेयक शाखा (प्रतिनिधि सभा)मा दर्ता भएका विधेयक ८७ पुगेका छन्। तीमध्ये प्रमाणीकरण भएका विधेयक ५३ छन् भने दर्ता भएपश्चात् तीन विधेयक सरकारले फिर्ता लिएको थियो। हाल प्रतिनिधि सभामा ३७ विधेयक दर्ता भएर बसेका छन्। यीमध्ये वितरण गरिएका आठ, समितिमा विचाराधीन १० र सभामा विचाराधीन १२ विधेयक थिए। राष्ट्रिय सभाबाट सन्देशसहित तीन विधेयक यो अधिवेशनमा थपिएका छन्।
संघीय संसद्को पहिलो अधिवेशन २०७४ फागुन २१ गतेदेखि चैत २० गतेसम्म भएको थियो। संसद्को दोस्रो अधिवेशन २०७५ वैशाख २३ गतेदेखि असोज ११ गतेसम्म, तेस्रो अधिवेशन २०७५ पुस ११ गतेदेखि चैत १० गतेसम्म, चौथो अधिवेशन २०७६ वैशाख १६ गतेदेखि असोज २ गतेसम्म भएको थियो।
संसद्को पाँचौं अधिवेशन २०७६ पुस ४ गतेदेखि चैत २४ गतेसम्म र छैटौँ अधिवेशन २०७७ वैशाख २६ गतेदेखि असार १८ गतेसम्म चलेको थियो। संघीय संसद्मा दुवै सभातर्फ दर्ता भएका सन्धि/सम्झौताको संख्या १४ छ। उक्त ६ सन्धि/सम्झौता दुवै सभाबाट अनुमोदन भएका छन् भने ८ सन्धि/सम्झौता सदस्यलाई वितरण मात्र भएका छन्।
एसिड आक्रमण, नागरिकता विधेयकदेखि एमसीसीसम्म अलपत्र
प्रतिनिधि सभामा पेस भई पारित हुनुपर्ने धेरै महत्त्वपूर्ण कानुनहरू वर्षौँदेखि अलपत्र अवस्थामा रहेका छन्। यस्तै, विधेयकमध्येको एक हो नागरिकतासम्बन्धी विधेयक। संसद्को राज्यव्यवस्था तथा सुशासन समितिबाट २०७७ असार ७ गते यो विधेयकको प्रतिवेदन पारित हुँदै प्रतिनिधि सभामा पेस भएको थियो। तर, सरकारले बजेट अधिवेशन नै अन्त्य गरिदियो।
एसिड आक्रमण गर्नेहरुलाई कडा कारबाहीको व्यवस्था गर्ने भनी केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश पनि अलपत्र भएको छ। सरकारले पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा पेश गरेपनि प्रतिस्थापन विधेयक पेश नगरि अधिवेशन अन्त्य भएकाले यो अध्यादेशले कानुनी रुप ग्रहण नगर्ने देखिएको छ। त्यस्तै, २०७७ असार १५ मा पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक संसदमा पेस हुन बाँकी छ।
संसद्को विकास तथा प्रविधि समितिले २०७६ पुस १३ मा पारित गरेको सूचना/प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि टेबल हुन सकेको छैन। बिरुवा संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट पारित हुँदा मात्रै कानुन बन्ने अवस्थामा छ।
प्रतिनिधि सभामा उत्पत्ति भएको यो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा, राष्ट्रिय सभाबाट पनि पारित भई प्रतिनिधि सभामै फर्किएको छ। अब प्रतिनिधि सभाले राष्ट्रिय सभाले गरेको संशोधन स्वीकार गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउन सक्छ। यसो गर्दा यो विधेयक तत्काल कानुन बनेर कार्यान्वयनमा जाने थियो।
त्यस्तै, एमसीसी अनुमोदन गर्ने वा नगर्ने प्रस्ताव पनि संसद् सचिवालयमा रहेको छ। उक्त विषयमा पनि संसदमा छलफल गरेर टुंगोमा पुग्नुपर्ने माग उठ्दै आएको छ।
नेपाली कांग्रेसका सांसदहरूले बेरोजगारलाई रोजगारी दिन सरकारी योजना माग्दै संसदमा जरुरी महत्त्वको प्रस्ताव दर्ता गरेका छन्। कांग्रेसकै सांसदहरूले घरेलु हिंसाविरुद्ध विभिन्न कानुनी व्यवस्थाको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका छन्।
वैदेशिक रोजगार सम्बन्धी महत्त्वको प्रस्ताव पनि संसदमा नेपाली काग्रेसका सांसदहरुले पेश गरेका थिए। महिला तथा बालबालिकामाथि हुने बलात्कारका घटना रोक्न टोल–टोलमा निगरानी समूह गठन गर्न आवश्यक भएको भन्दै ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको थियो।
त्यस्तै, सरकारले ल्याएको नेपाल प्रहरी र प्रदेश प्रहरी सञ्चालन सम्बन्धी अध्यादेश, औषधि अध्यादेश, फौजदारी संहिता र यौन हिंसाविरुद्धका केही ऐन संशोधन तथा बेपत्ता पारिएका व्यक्तिहरूको म्याद थप सम्बन्धी अध्यादेश पेस हुनुपर्ने अवस्था छ। अब यी अध्यादेशहरु पुनः जारी गरेर मात्र संसदमा पेश हुनसक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।