काठमाडाैं– एमाले सांसद रामकुमारी झाँक्रीले नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदप्रति आक्रोश व्यक्त गरेकी छन्।
संसदको अर्थ समितिमा बोल्ने क्रममा सांसद झाँक्रीले उनलाई कार्यकारी पद छोडेर लगानी गर्न सुझाइन्। ‘नैतिकतामा प्रश्न उठेको छ। लगानी नै गर्नु छ भने बाहिर आएर कम्पनी खोलेर आउनुस्,’ अर्थ समितिमा झाँक्रीले भनिन्, ‘नैतिकतामा प्रश्न उठेको छ। लगानी नै गर्नु छ भने बाहिर आएर कम्पनी खोलेर गर्नुस्।कार्यकारीमा आउनु भएन नि। जागिर खान आउन भएन।’
साउद सर्वोत्तम सिमेन्टको सेयर खरिद गरी विवादमा आएका हुन्। साउदले कानुनी अधिकारकै आधारमा सेयर खरिद गरेको भन्दै समिति बैठकमा आफ्नो बचाउ गरे। कानुन, नियम, नियमावली हेरेर कारोबार गर्न मिल्छ भन्ने हो भन्दै गर्दा नैतिक धरातल हेर्नुपर्ने झाँक्रीले उनलाई सुझाव दिइन्।
सीईओको व्यक्तिगत कुरा मात्रै नभएको उल्लेख गर्दै झाँक्रीले भनिन्, ‘व्यक्तिले गरेको मात्रै मान्ने हो भने नेप्सेले जवाफ किन दियो? र, किन दिनु पर्यो? विषय अलि अघि बढिसक्यो।’
कमजोर आधार देखाएर सेयर खरिद गरिएको हो भने कमजोर पक्षलाई संशोधन गर्नुपर्ने तर्क झाँक्रीको छ। ‘सीईओ नै लगानीमा लाग्दा नियामक निकायको विश्वसनीय घट्छ। साना लगानीकर्ता पीडित बन्छन्।’
नियमन गर्ने निकायको व्यक्तिले आफूलाई प्रत्यक्ष लाभ हुने कार्यमा लाग्न नहुने उनको सुझाव छ। ‘उपल्लो वर्गले आफै लाभ लिनसक्ने छ भने हामीले सहजीकरण त तल्लो वर्गलाई गर्ने हो।’ बैंकबाट ऋण लिएर साना लगानीकर्ता सेयर खरिदका लागि झुमिरहेको बेला नेप्सेका पदाधिकारीले स्वार्थ मिल्ने गरी सेयर खरिद गर्दा त्यसले नकरात्मक असर गर्ने उनले बताइन्।
कानुनमा भएका छिद्र प्रयोग गरेर सेयर खरिद गर्न कार्यकारी पदले नमिल्ने उल्लेख गर्दै झाँक्रीले कानुनमा समस्या छ भने त्यसलाई संशोधन गर्नुपर्ने बताइन्। नेम्से, ब्रोकर, सेबोन सबैले विधि मिचेर कार्य गरिरहेको उनको आरोप छ। ती निकायले विधि मिचेको उदाहरण दिन सक्ने उनले समितिमा बताइन्।
नेप्सेका सीईओ साउदले सेयर खरिद गरेको विषय समितिको केही छलफलमा सीमिति नहुने उनले बताइन्। उनले भनिन्, ‘यस विषयलाई यत्तिमै क्लोज गर्न हुँदैन। अर्थ मन्त्रालयसँग पनि थप छलफल गरी समिति निष्कर्षमा पुग्नुपर्दछ।’ सेयर खरिदका क्रममा भएका ‘इन्साइडर विषय’ पनि खोज्नुपर्ने उनको राय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।