काठमाडौं- स्विटजरल्याडको जेनेभामा अन्तर्राष्ट्रिय श्रमिक सम्मलेनमा सहभागी हुन पुगेका पूर्वी एसियाका श्रममन्त्रीहरु बीच कोलोम्बो प्रोसेसलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
नेपाल कोलोम्बो प्रोसेसको अध्यक्ष राष्ट्र हो। अध्यक्ष राष्ट्रका हैसियतले छलफलको आयोजना नेपालले गरेको थियो।
एसियाबाट रोजगारीको खोजीमा अन्य मुलुक जाने कामदारको सुरक्षा, सेवा सुविधा र मानवअधिकारका विषयमा पनि छलफल भएको छ। नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कोलोम्बो प्रोसेसले आप्रवासी कामदारका हक अधिकारका विषयलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए। मन्त्री विष्टले पूर्वी एसियाको प्रमुख समस्या बेरोजगारी, आप्रवासन र बुढ्यौलीपन भएको जानकारी गराएका थिए।
रोजगारीको खोजीमा अन्य देश जाने युवालाई तालिम र दक्षता बनाउने विषयमा कोलोम्बो प्रोसेसमार्फत साझा अवधारणा बनाउनुपर्ने विषयमा मन्त्रीले जोड दिएका छन्।
कोलोम्बो प्रोसेसमा १९ राष्ट्र संग्लन छन्। यी राष्ट्रका श्रममन्त्रीले त्रिपक्षीय श्रम सम्झौता नगरी रोजगारमा कामदार आपूर्ति गर्न नहुने धारणा राखेका थिए। रोजगारीका नाममा भइरहेको मानव तस्करी रोक्न सबै देशले साझा रणनीति बनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।