एजेन्सी– अमेरिकी सहर लस भेगासस्थित मन्डला बे होटलमा आइतबारको कन्सर्टमा गोली प्रहार हुँदा २० जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये १४ जना गम्भीर छन्।
एक जना बन्दुकधारीले खुला ठाउँमा भइरहेको कन्ट्री म्युजिक फेस्टिभलमा अन्धाधुन्द स्वचालित राइफलबाट गोली चलाउँदा सयौं दर्शकको भागाभाग भएको थियो।
प्रहरीले गोली प्रहार गर्ने संकास्पद व्यक्तिको पनि जवाफी कारबाहीमा गोली लागेर मृत्यु भएको जनाएको छ। प्रहरीले एक जनाबाहेक अरु आक्रमणकारी नभएको अनुमान गरेको छ।
त्यहाँको अस्पतालका प्रवक्ताले घाइतेमध्ये १४ जना सिकिस्त भएको जानकारी दिइन्।
स्थानीय समय अनुसार आइतबार राति करिब साढे १० बजे घटना भएको थियो। प्रत्यक्षदर्शीले सयौं गोली हानिएको बताए।
घटनास्थलको वरिपरि बन्द गरेर अनुसन्धान थालिएको छ। प्रहरीले घटनास्थल वरपर गस्ती गरिरहेको छ।
घटनाबाट तर्सिएका सहरबासीमध्ये कतिपयले होटल, रेस्टुरेन्ट र म्याककारान विमानस्थलमा शरण लिएका छन्। लस भेगासबासी सहर छाडेर बाहिर जान थालेको सञ्चार माध्यमले जनाएका छन्। घटनापछि लस भेगास पुगेका हवाइ उडान अन्यत्र पठाइएको छ।
लस भेगाग स्ट्रिपमा रहेका कैयौं होटलमा शुक्रबारदेखि कन्ट्री म्युजिक फेस्टिभल जारी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।