काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारले पूर्णता पाउन केही दिन लाग्ने बताएका छन्।
शुक्रबार अपरान्न साढे ३ बजेतिर सुरु भएको स्थायी समिति बैठकमा धेरै जसो नेताहरुले सरकारका विषयमा प्रश्न उठाएपछि प्रचण्डले सरकारले पूर्णता पाउन केही दिन लाग्ने बताएका हुन्।
‘सरकारले पूर्णता नपाउदा एकाध आलोचना भइरहेका छन्। चाहेरपनि तत्काल पूर्णता दिने अवस्था छैन,’ प्रचण्डको भनाइलाई उदृढ गर्दै स्थायी समिति सदस्य गणेश साहले भने,‘गठबन्धनमा सहभागी दलहरुका बैठक र छलफलहरु चलिरहेका छन्। त्यसपछि सरकारले पूर्णता पाउन सक्छ। त्यसका लागि केही दिन पर्खिनुपर्ने भयो।’
कांग्रेस केन्द्रीय समिति बैठक, माओवादी केन्द्रको केन्द्रीय समिति बैठक, जसपाको केन्द्रीय समिति बैठक निरन्तर चल्ने भएका छन्। सरकारमा सहभागीता नहुने विषयमा राष्ट्रिय जनमोर्चा र एमाले माधवकुमार नेपालपक्षले स्पष्ट पारेपनि गठबन्धनमा सहभागी तीन दलले पूर्णता दिन सकेका छैनन्।
सरकार गठन भएको एक महिना पुग्दासमेत पाँच मन्त्रीलाई मात्रै लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सञ्चालन गरिरहेका छन्।
यस्तै, माओवादी केन्द्रले पार्टी विधान संशोधनका विषयमा शनिबार बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने भएको छ। त्यस विषयमा छलफल गर्न बिहान ११ बजे बैठक बोलाएको नेता साहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।