काठमाडौं- नेकपा एमाले लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका अमरबहादुर डाँगी मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’को प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन्।
डाँगीलाई मन्त्री सरहको सुविधा दिएर बिहीबार केसीले आफ्नो प्रमुख राजनीतिक संल्लाहकारको रुपमा नियुक्त गरेका हुन्। तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको विपक्षमा गएर गठबन्धनका मुख्यमन्त्री केसीलाई साथ दिएर डाँगी माओवादी प्रवेश गरेका थिए।
डाँगी माओवादी प्रवेश गरेलगतै एमालेले कारबाही गरेपछि सांसद पद गएको थियो। उनी दाङ क्षेत्र नम्बर २‘ख’बाट एमालेबाट निर्वाचित सांसद हुन्।
यस्तै, सूर्य चिन्ह लिएर हृदेश त्रिपाठी समूहबाट निर्वाचित अजयबहादुर शाहीले समेत मुख्यमन्त्री केसीलाई साथ दिएपछि विनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन्।
उनलाई एमालेले कारबाही गर्ने निर्णय गरी सकेको छ। यस्तै, तत्कालिन नेकपाको सूर्य चिन्हबाट निर्वाचित एमाले सांसद विमला ओली पनि माओवादी प्रवेश गरेकी छिन्। उनले माओवादीलाई साथ दिएकाले मन्त्री बनाउने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।