नेपालगञ्ज– बर्दिया गुलरिया नगरपालिकाको लालपुरमा आइतबार साँझको झडपपछि लगाइएको कर्फ्यु जारी छ। तनाव शान्त पार्न स्थानीय प्रशासनको पहलमा भएको वार्ता सहमतिमा पुगे पनि कर्फ्यु भने मंगलबार बिहान ८ बजेदेखि मात्र हट्ने भएको हो।
बैठकमा स्थानीय प्रशासनले छानबिन समिति बनाई घटनाको छानबिन गर्ने र समितिको प्रतिवदेनका आधारमा दोषी देखिएकालाई कारबाही गर्ने सहमति भएको हो। यस्तै, झडपमा घाइते भएका ११ जनालाई सरकारले उपचार गरिदिने भएको छ।
हिन्दू र मुस्लिम समुदायका प्रतिनिधि, स्थानीय नागरिक समाजका अगुवा, दलका प्रतिनिधि लगायत सम्मिलित बैठकले कर्फ्यु हटेपछि स्थिति सामान्य भएमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सदभाव र्याली आयोजना गर्ने निर्णय गरेको छ।
आइतबार साँझको झडपपछि स्थितिलाई थप तनावग्रस्त हुन नदिन सोमबार बिहान साढे ९ बजेदेखि स्थानीय प्रशासनले लालपुरदेखि ५ सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु आदेश जारी गरेको हो। कर्फ्यु आदेश जारी भएपछि नेपालगन्ज–गुलरिया सडकखण्डको यातायात सेवा अबरुद्ध हुँदा दशैंको टीका लगाउन हिँडेका सयौं यात्रु अलपत्र परे।
ताजिया बिर्सजन र मूर्ति बिसर्जनमा निस्केका दुवै समूहलाई अगाडि जानका लागि बाटोको साइड दिने विषयमा उत्पन्न विवाद बढ्दै गएपछि झडप भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।