काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विशेष महाधिवेशन र म्याद थप्ने कुरा मान्य नहुने बताएका छन्। पार्टी केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा उनले पार्टी विधान र संविधानविपरीत कार्य गर्न नहुने बताएका हुन्। ‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन,’ उनले भने।
केही पदाधिकारी र जिम्मेवार नेताहरुबाट विशेष महाधिवेशन अथवा यही कार्यसमितिलाई डेढ/दुई वर्ष समय थप्ने कुरा सुनिएको उनले बैठकमा बताए। उक्त विकल्पबारे केन्द्रीय सदस्यहरुबाट भने कुरा नउठेको उनले स्पष्ट पारे। ‘क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान नभई महाधिवेशन हुनै सक्दैन। ‘पटक–पटक हामीले कार्यतालिका बनायौं, तर क्रियाशील सदस्यको विवादले कार्यतालिका प्रभावित भयो,’ उनले भने, ‘यो पटक त्यस्तो नहोस्। छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुंग्याएर डेढ÷दुई महिना भित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ।’
नवीकरण गर्न छुटेकाको हकमा १३औं महाधिवेशनको कार्ड लिएर आएमा महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था निर्वाचन निर्देशिकामा राख्न उनले सुझाव दिए। महाधिवेशन भदौमा गर्न सकिने बताउँदै उनले भने, ‘जहाँ समस्या छ त्यहाँ १३औं महाअधिवेशनलाई आधार मानेर अधिवेशनमा जाऔं।’
केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्नामा भएकाले बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा डाकिएको छ। धर्नामा बसेका कार्यकर्ताको मागको सुनुवाइ गर्दै पार्टी कार्यालयमा नै बैठक गर्नुपर्नेमा समेत उनले जोड दिए।
प्रधानमन्त्रीसमेत रहेका देउवाले अधिकांश समय सरकारमा दिनुपर्नेमा पार्टीलाई दिनुपरेको वाध्यता उनले सुनाए। पार्टीलाई समय दिँदा सरकारको प्रभावकारिता कसरी देखिन्छ भन्दै उनले प्रश्नसमेत गरेका थिए।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राखेको मन्तव्यको सम्पादित अंशः
१. सरकारलाई बधाई ! शुभकामना–सफलताको कामना।
२. प्रधानमन्त्रीजी ले १००% समय सरकार सञ्चालनमा ध्यान दिनुपर्नेमा ७५% समय पार्टीको काममा खर्च भएको छ। यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?
३. २ महिनादेखि १५ मन्त्रालय नेतृत्वविहीन छन् । यसले कसरी जनहितमा काम गर्न सक्छ र सुशासन दिन सक्छ?
४. संख्याका हिसाबले नेपाली कांग्रेस अल्पमतमा छ तर पनि कांग्रेस यतिबेला सरकारको नेतृत्व गर्दैछ। गठबन्धनको सरकार छ। अहिले सरकारका सामु धेरै चुनैती छ।
५. यतिबेला अन्तर्राष्ट्रिय परिस्थिती कांग्रेस पार्टीको प्रतिकुल छ। हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्नेछ । त्यसकारण पार्टीको सम्पूर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने देखिन्छ।
६. आज दुःख लागेको छ। सानेपाको कार्यलय छाडेर केन्द्रीय समिति बैठक यहाँ गर्दै छौं। पार्टी कार्यलयमा धर्नामा बसेका हाम्रै साथीहरु हुन्। उनीहरुको माग हामीले सुन्नैपर्छ। १३औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य साथीहरू नै पार्टी कार्यलयमा धर्नामा बस्नु भएको थियो। तर पार्टी अफिसमै बैठक बस्यो र साथीहरूको माग सुनुवाइ भयो। मेरो बिनम्र आग्रह छ कि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौं।
५. अधिवेशन ः संविधान र कानुन हामीले नै बनाएको हौँ । यहाँ हुनुभएका धेरै साथीहरू संविधानसभामा हुनुहुन्थ्यो। त्यसमा उल्लेख भएका र लेखिएका कुराहरुलाई कांग्रेस जस्तो लोकतान्त्रिंक पार्टीले बिर्सन मिल्दैन। कांग्रेस पार्टी लोकतन्त्रको पाठशाला पनि हो। पदाधिकारी र पूर्व पदाधिकारीले महाधिवेशनको टुङ्गो लगाउनुहोला भनेर केन्द्रीय सदस्यहरु कुरेर बस्यौं तर उहाँहरुमा इच्छाशक्ति देखिएन।
६. क्रियाशिल सदस्यता ः तल्लो तहबाट, विधान र प्रक्रियागत ढङ्गले आएका छानबिन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि विपरित थपिएका क्रियाशील सदस्यता र पार्टी समायोजन नाममा प्रक्रिया नपुर्याइ बितरण गरिएका सदस्यताले जटिलता उत्पन्न गरेको हो।
नेतृत्व र क्रियाशील छानबिन समितिले क्रियाशीलमा धेरै समस्या छैन भनेर भनिसकेकोले यसमा अल्झिन आवश्यक छैन । जुन–जुन स्थानमा समस्या छ त्यहाँ १३औं महाअधिवेशनका क्रियाशीललाई आधार मानेर अधिवेशनमा जाऔं।
७. निर्देशिका ः गत निर्वाचनमा विद्रोही उम्मेद्वार, प्रस्तावक र समर्थकको नाम क्रियाशील नवीकरणमा समावेश भएको हुन सक्छ त्यसलाई हटाउने व्यवस्था निर्देशिकामा गरिनुपर्छ भनेर क्रियाशील सदस्य छानविन समितिका संयोजक रमेश लेखक ज्यूले राखिसक्नुभएको छ । कतिपय स्थानमा पार्टीका आधिकारिक उमेद्वारको नवीकरण छुटेको छ। नवीकरण छुटेकाको हकमा १३औं महाधिवेशनको कार्ड लिएर आएमा महाधिवेशन प्रक्रियामा सहभागी हुन दिने व्यवस्था निर्देशिकामा राख्नुपर्छ।
८. अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरुबाट विशेष महाधिवेशन अथवा यही कार्यसमितिलाई डेढ दुई वर्ष समय थप्ने कुरा सुनिँदैछ। कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन्। पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन। विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य हुँदैन। क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन। पटक– पटक हामीले कार्यतालिका बनायौं, तर क्रियाशीलको विवादले कार्यतालिका प्रभावित भयो, यो पटक त्यस्तो नहोस्। छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ÷दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ।
९. नेपाली कांग्रेसको अधिवेशन हाम्रो नेतृत्व चयनको मात्र विषय होइन । यो मुलुकको भविष्य कता कसरी जान्छ भनी निर्धारण गर्ने यो महाधिवेशन हो। यसमा देशवासीको चासो र चिन्ता त छ नै, अन्तराष्ट्रिय समुदायको पनि हामीप्रति दृष्टि छ । तसर्थ, कांग्रेसको १४औं महाधिवेशनको संघारमा हामीले एकताबद्ध भएर हामीप्रति भरोसा र विश्वास गर्नेको मन जित्न सके नेपालमा लोकतन्त्रको भविष्य सुन्दर हुनेछ।
(२०७८ श्रावण २९ गते)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।