काठमाडौं– शुक्रबार दिउँसो प्रतिनिधि सभा बैठक सुरु हुनसाथ प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरु चर्को विरोधमा उत्रिए।
सत्तारुढ नेकपा माओवादी केन्द्रका एक सांसदले बिहीबारको बैठकमा बोलेका कुरामा तीब्र आपत्ति जनाउँदै विरोधमा उत्रिएका एमाले सांसदहरुले सभामुखलाई त्यसविरुद्ध रुलिङ गर्नसमेत बाध्य तुल्याए। बिहीबारको बैठकमा माओवादी केन्द्रका सांसद मात्रिका यादवले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर टिप्पणी गरेका थिए। त्यसको विरोधमा उत्रिएका एमाले सांसदहरुले शुक्रबार यादवले बोलेका कुरा संसदको रेकर्डबाट हटाउन लगाएका छन्।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको भनाइमाथि बुधबार नै नियमापत्ति गरे पनि त्यतिले नपुगेपछि शुक्रबार पुनः समय लिएर नियमापत्ति जनाएका थिए। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले यादवले बोलेका कुरा संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका थिए।
गत जेठ ७ मध्यराति दोस्रोपटक विघटन गरिएको प्रतिनिधि सभा सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएपछि सत्ताबाट बाहिरिएको एमाले सदनमा आक्रामक रुपमा प्रस्तुत हुनथालेको उदाहरण पनि हो, यो।
केही दिनअघि प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका नेता ओलीले नै प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा विशेष समय लिएर सरकार र संसद दुवैको चर्को आलोचना गरेका थिए। करिब तीन वर्ष सरकारमा रहँदा नामै नलिएको एमसीसीदेखि संसद विघटन गरेर आफैले अध्यादेशबाट ल्याएको नागरिकता विधेयकसम्मका कुरा ओलीले उठाएका थिए। उनले सभामुख अग्निप्रसाद सापकोटादेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई अबको प्रतिपक्ष कस्तो हुनेछ भन्ने संकेत पनि गरे।
प्रतिनिधि सभा पुनःस्थापना भएलगत्तै ओलीले वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट बनेको टिप्पणी गर्दै आएका थिए। एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभाका हरेक बैठकमा यही कुरालाई स्थापित गर्ने प्रयास गरिरहेको छ।
सत्तामा रहँदा कमजोर प्रतिपक्षका रुपमा आलोचित बनेको नेपाली कांग्रेस अहिले सत्तामा पुगेपछि बलियो प्रतिपक्षको चुनौती खेप्ने अवस्थामा पुगेको छ। पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकदेखि नै एमाले सांसदहरुले शून्य समय र विशेष समयमा सरकार विस्तार हुन नसकेकोबारे समेत निरन्तर प्रश्न उठाइरहेका छन्।
एमालेको आक्रामक प्रतिपक्ष रुप देखेर हुनसक्छ, सरकारले प्रतिनिधि सभामा विधेयकहरुसमेत पेश गर्न सकेको छैन। प्रतिनिधि सभा बैठकमा अहिले शून्य समय र विशेष समयमात्र सञ्चालन भइरहेका छन्। प्रतिनिधि सभामा विचाराधीन विभिन्न विधेयक पेस गर्दा पारित नहुने भय सरकारमा देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।