मुख्यमन्त्रीमा कुलप्रसाद केसी ‘सोनाम’ले बिहीबार शपथ लिएका थिए। तस्वीर : रासस
काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुलप्रसाद केसी ‘सोनाम’ सहित ६ मन्त्रीले बिहीबार शपथ लिएका छन्। गठबन्धनबाट मुख्यमन्त्री बनेका केसीको मन्त्रिमण्डल १० सदस्यीय बनाउने सहमति यसअघि नै भएको छ।
शपथ लिएका ६ मन्त्रीमध्ये माओवादी केन्द्रका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री, कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामिण तथा शहरी विकास, जनता समाजवादी पार्टीबाट सहसराम यादवले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेका छन्। यस्तै जसपाकै पुर्तमति ढेंगा मगर र सुमन शर्मा रायमाझीले विनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन्। सूर्य चिह्नबाट चुनाव जितेका हृदयश त्रिपाठी समूहका अजयबहादुर शाहीले विनाविभागीय मन्त्रीको शपथ लिएका छन्।
दोस्रो चरणमा मन्त्रिमण्डल विस्तार हुँदा विमला खत्री(ओली)लाई राज्य मन्त्री बनाउने तयारी रहेको माओवादी केन्द्रका एक सांसदले बताए। ओलीलाई राज्य मन्त्री बनाउने पक्का भएपनि दोस्रो चरणमा समेटिने भएको छ।
यस्तै माओवादीबाटै इन्द्रजीत थारु, तेजबहादुर ओली, दामा शर्मा र दीपेन्द्र पुन मध्येबाट एक जना मन्त्री बनाउने तयारी गरिएको ति नेताले बताए।
यस्तै कांग्रेसबाट दोस्रो चरणमा मन्त्री हुनेमा वीरबहादुर राना, फाखरुदीन खान, खरुदिन खान मध्येबाट दुई जना मन्त्री हुने कांग्रेस स्रोतले जानकारी दियो। जसपाका तीनै सांसदले मन्त्रीको शपथ लिइसकेका छन्। गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने यसअघि नै स्पष्ट पारिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।