काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर बोलेका शब्दहरु संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले सचिवालयलाई यसकालागि निर्देशन दिएका हुन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद यादवले पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर टिप्पणी गरेका थिए।
बिहीबारकै बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले त्यसमा आपत्ति जनाएका थिए।
सांसद यादवले भनेका थिए, 'उहाँ (ओली) चाहिँ मेन्टल्ली पनि ठीक हुनुहुन्न। फिजिकल्ली पनि ठीक हुनुहुन्न। कुनै पनि बेला दुर्घटना हुनसक्छ।... म एमालेका मित्र माननीयहरुलाई के भन्न चाहन्छु भने, सामान्य जहाज उडाउँदा क्याप्टेनहरुको मेडिकल चेक हुन्छ। उसको स्वास्थ्य ठीक छ कि छैन, ब्रेन ठीक छ कि छैन। यो देशकै जहाज उडाउन दिएपछि दुर्घटना हुँदैन? पार्टीकै जहाज उडाउन दिएपछि दुर्घटना हुँदैन? अहिले कहाँ पुगिरहेको छ? ... सुगा रटान जस्तो, एउटै टेप बजेजस्तो- परमादेश, परमादेश, परमादेश। जसको मेन्टली बिग्रेको छ, त्यो भन्छ परमादेश परमादेश। सबै जनाको त मेन्टली बिग्रेको हुँदैन नि त।'
यादवको भनाइमा आपत्ति जनाउँदै भट्टराईले भनेका थिए, 'त्यो भन्ने अधिकार उहाँलाई कहाँबाट छ? उहाँसँग के प्रमाण छ? के तथ्यका आधारमा उहाँले यो कुरा गर्दै हुनुहुन्छ? सम्मानित सभामुख मार्फत म प्रश्न गर्न चाहन्छु- प्रत्येक सदस्यले प्रत्येक सदस्यलाई यहाँ स्वास्थ्यको परीक्षणको बारेमा बताउन मिल्छ कि मिल्दैन? ... त्यसकारण यो मर्यादित ठाउँमा, यो एउटा सम्मानित ठाउँमा, जनताको सार्वभौम सत्ताको प्रयोग हुने यो महत्त्वपूर्ण निकायमा यस खालका, अमर्यादित खालका र संसद्लाई नसुहाउने अभिव्यक्तिहरु हाम्रा लागि गम्भीर आपत्तिजनक छ। र यो रेकर्डबाट हटाइयोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।