काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले पछिल्लो ६ महिनामा लोकतन्त्र, संविधान र संघीयतालाई चुनौती दिने काम भएको बताएका छन्।
प्रदेश राजधानी बुटवलमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री केसीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलप्रति संकेत गर्दै परिवर्तनका उपलब्धिलाई समाप्त पार्न खोजिएको बताए।
‘अकल्पनीय ढंगले लोकतन्त्र, संविधान र संघीयतामाथि चुनौती दिने काम भयो। नेपालको संविधानमाथि नै प्रश्न उठ्ने गरी अस्थिरता पैदा भयो। त्यो गत पुसदेखि यहाँसम्म आउँदा भयो। त्यो अकल्पनीय थियो,’ केसीले भने, ‘कसरी राजनीतिक स्थायित्व दिने भन्ने राजनीतिक पार्टीहरुका लागि पनि चुनौती भयो।’
लोकतन्त्र, संविधानको रक्षा र संघीयताको व्यवस्थापनमा समेत चुनौती दिने काम याे अवधिमा भएकाे उनकाे भनाइ थियो।
परिवर्तनका उपलब्धि सबै कानुनी र संवैधानिक रुपमा ट्र्याकमा आइपुगेको केसीले दाबी गरे। मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि सबै उपलब्धिलाई रक्षा गर्न नीति, कार्यक्रम र रणनीति बनाएर अघि बढिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।