काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले छलफलका क्रममा बोलेको विषयलाई पार्टी भित्रैबाट बाहिर ल्याउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
शुक्रबार विज्ञप्ति जारी गर्दै महतले तोडमोड गरि आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
'मैले प्रधानमन्त्रीको उपस्थितिमा सिमित निकटस्थ सहयोगी र नेताहरुका बीचमा राखेका कुरालाई जोडेर “शेर बहादुर देउवा किन मलाई मन पर्छ” भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेको कुरा सञ्चार माध्यमहरुमा एकपछि अर्कोगरि सुनियोजित रुपमा सम्प्रेषण गरिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ', महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामहरुलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेको भन्दा तथ्य र आधारसहित परिपक्क र भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको छ।'
महतले आफूले प्रधानमन्त्रीको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थहरुले सिधैं प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने भएपनि किन सामाजिक सञ्जालको सहयोग लिएको भनेर जिज्ञासा मात्र राखेको भएपनि छलफलका क्रममा नभनेका कुरालाई तोडमोड गरि सञ्चारमाध्यममा प्रसारण हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्।
'प्रधानमन्त्री वा उहाँको सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानी गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुचमा रहेका नेता र निकटस्थहरुले सिधैं प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर उक्त छलफलमा मैले जिज्ञासा मात्र राखेको हुँ', विज्ञप्तिमा भनिएको छ, 'छलफलका क्रममा भन्दै नभनेको कुरालाई यसरी तोडमोड गरि सञ्चार माध्यममा त्यहीभित्रबाट सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण भएको सबै सरोकारवाला, पार्टीका समर्थक र शुभचिन्तकहरुमा निबेदन गर्दछु।'
नेतृत्व तहबाट कुनै कमी कमजोरी भएमा सिधैं राख्ने आफ्नो स्वभाव भएको र त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिक रुपमा राख्नुपर्छ भन्ने मान्यता आफूले राख्ने उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।