लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी बिहीबार नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउँदै । तस्वीरः निरा गौतम, रासस
काठमाडौं- बिहीबार गठन भएको लुम्बिनी प्रदेश सरकारको नयाँ मन्त्रिमण्डलमा अलि भिन्न परिदृष्य देखिएको छ। नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले नेतृत्व गरेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन सरकारमा प्रमुख प्रतिपक्ष एमालेतर्फ रहेका सांसद समेत मन्त्री बनेका छन्।
मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिएका थिए। सो अवधिभित्र केसीको एकमात्र दाबी परेपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए।
बिहीबार साँझ मुख्यमन्त्री केसीले प्रदेश प्रमुख शेरचनसँग पद तथा गोपनीयताको शपथ लिँदा उनको मन्त्रिमण्डलका ६ जना मन्त्रीले पनि शपथ लिए। शपथ लिने ६ जनामा एक हुन्, अजयबहादुर शाही।
शाही अहिले प्रदेश सभामा एमालेका सांसद हुन्। उनले विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका छन्।
शाही खासमा हृदयश त्रिपाठीले नेतृत्व गरेको ‘स्वतन्त्र विचार समूह’का सांसद हुन्। २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा एमालेसँग तालमेल गरेर त्रिपाठीको समूह सूर्य चिन्हबाट चुनाव लडेको थियो। सूर्य चिन्हबाट निर्वाचित भएकाले उनीहरुलाई संसद (प्रतिनिधि सभादेखि प्रदेश सभासम्म) एमालेको ह्वीप लाग्छ। शाही नवलपरासी पश्चिम १ ‘ख’बाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।
गत बैशाखमा लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव आउँदा उनले पनि हस्ताक्षर गरेका थिए, तर पछि फिर्ता लिएको घोषणा गरेका थिए।
आफ्नो सरकार ढलेपछि लुम्बिनीमा एमालेले प्रमुख प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। तर, त्यसविपरीत माओवादीका केसीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका शाही उनकै मन्त्रिमण्डलमा मन्त्री बनेका छन्। ‘उहाँ केही दिनदेखि गायब हुनुहुन्थ्यो, पार्टीले प्रदेश सभा बैठक बहिष्कार गर्दा उपस्थित हुनुभो, आज त मन्त्री नै बन्नुभएछ’, एमालेका एक प्रदेश सभा सदस्यले भने।
एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले शाहीमाथि पार्टी निर्णय उल्लंघन गरेको आरोपमा कारबाही गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।