काठमाडौं– विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत हङकङबिरुद्धको छैटौं चरणको खेलका लागि नेपाली क्रिकेट टिमले बुधबारदेखि पुन: प्रशिक्षण थाल्ने भएको छ।
दशैंका लागि नेपाली टिमलाई पाँच दिन विदा दिइएको थियो। विदापछि मंगलबारदेखि अभ्यास हुनु पर्ने भएपनि केहि खेलाडी काठमाडौं बाहिर भएकाले बुधबारदेखि अभ्यास थाल्ने प्रशिक्षक जगत टमाटाले बताए। 'सबै खेलाडी भोली (मंगलबार) काठमाडौं आइपुग्छन्,' प्रशिक्षक टमटाले भने, 'पर्सि बुधबारदेखि प्रशिक्षण सुरु हुन्छ।'
हङकङ उड्नुअघि नेपालले ६ दिन त्रिभुवन विश्वविद्यालय मैदानमा अभ्यास गर्नेछ। नेपाली टिम २४ असोजमा हङकङ प्रस्थान गर्ने प्रशिक्षक टमाटाले जानकारी दिए।
नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा छैटौं चरणमा प्रतिस्पर्धा हुँदै छ। डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ। नेपाललाई शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप छनोट हुन हङकङसँगको खेल जित्नैपर्ने दबाव छ।
हङकङ विरुद्ध खेलको तयारीका नेपाल दशैंअघि १० दिन भारत भ्रमणमा गएको थियो। दशैंको फूलपातीमा फर्किएको नेपालले भारतमा चार वटा अभ्यास खेल खेलेको थियो। चार मध्ये नेपालले तीन खेलमा जित हात पारेको थियो।
नेपालले पहिलो अभ्यास खेलमा तामिलनाडु प्रिमियर लिग खेल्ने टिम डिन्डिगुल ड्रागनलाई १ सय ५३ रन, दोस्रो खेलमा मेलापुर रिक्रिएसन क्लबलाई ५२ रन र तेस्रो खेलमा तमिलनाडु 'ए' टिमलाई १ सय ४७ रनले पराजित गरेको थियो। दोस्रो खेलमा नेपालको ओपनर ज्ञानेन्द्र मल्ल तथा तेस्रो खेलमा शरद भेषावकरले सतक प्रहार गरेका थिए। चौथो अभ्यास खेलमा खेलमा भारतको सेन्टर फर स्पोर्टस् साइन्स (सिएसएस) सँग ५ रनले पराजित भएको थियो ।
नेपाली टोली
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शरद भेष्वाकर
वसन्त रेग्मी
सोमपाल कामी
सागर पुन
विनोद भण्डारी
करण केसी
सुशील कँडेल
ललित भण्डारी
सुसन भारी
मोहमद आरिफ शेख
दीपेन्द्रसिंह ऐरी
सन्दीप लामिछाने
वैकल्पिक खेलाडी
जितेन्द्र मुखिया
नरेश बुढाऐर
मेहबुब अलाम
कुशल भुर्तेल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।