एजेन्सी- भारतीय मूलका क्यानेडेली नागरिक जगमित सिंह न्यु डेमोक्रेटिक पार्टी (एनडिपी) को नेताको प्रतिस्पर्धा छन्। आइतबारको मतदान अनुसार चुनावी मैदानमा उत्रिएको पहिलो पटक नै उनले गतिलो नतिजा ल्याउने अपेक्षा गरिएको छ। एनडिपी क्यानडाको संसदमा तेस्रो ठूलो पार्टी हो।
समर्थकहरु सिंहले राम्रो नतिजा ल्याउनेमा विश्वस्त छन् र उनले एनडिपीलाई संसदको उदाहरणीय पार्टी बनाउने अपेक्षा लिएका छन्। राजनीतिमा लगन भएका सिंहले सन् २०१९ मा प्रादेशिक निर्वाचनमा वर्तनमान प्रधानमन्त्री जस्टिन ट्रुडुलाई समेत चुनौती दिने आँकलन गर्न थालिएको छ।
सन् २०१५ मा भएको प्रादेशिक निर्वाचनमा खराब नतिजा आएपछि एनडिपीका वर्तमान नेता टम मलकेयरलाई हटाउन यो अधिवेशन भएको हो। जसमा जगमित सिंह, चार्ली एंग्स, निकी अस्थनबीच प्रतिस्पर्धा छ। पहिलो मतदानबाट विजेता घोषणा हुन नसके सबैभन्दा कम भोट ल्याउने प्रतिस्पर्धी बाहिरिनेछ र दोस्रो चरणको मतदान हुनेछ।
क्यानडाको राजनीतिमा सिंहले आफूलाई प्रगतिशील शक्तिका रुपमा चिनाएका छन्। 'मायासँगै हिम्मत' उनको नारा प्रख्यात छ। क्यानडामा जातीय द्वन्द्व बढेका बेला उनले समाधानका लागि अघि सारेको त्यस नाराले ख्याती कमाएको थियो।
उनलाई अब ठूला चुनावमा सहभागी भएर आफ्नो पार्टीको गुमेको साख फिर्ता गराउने चुनौती छ। 'टम मलकेयरलाई पार्टीको नेतृत्व दिनु गलत थियो उनको नेतृत्वको बेला गिरेको साख फर्काउने चुनौती नयाँ नेतालाई हुनेछ,' प्रोफेसर रिचार्ड जोनसन भन्छन्।
एनडिपीको नेतृत्वमा आउन तम्सेका सिंह एनडिपीबाट नगर चुनावमा निर्वाचित सदस्य भएका थिए। त्यस्तै उनले एनडिपीको ओन्टारियो इकाइको उपनेताका रुपमा पनि काम गरे। सन् २०१५ देखि हालसम्म उनले लिबरल पार्टीको प्रभाव क्षेत्रबाटै ४७ हजार नयाँ सदस्य थप गरेका छन्। 'मानिस प्रभावित बनाउन समाजिक सञ्जाल कति महत्वपूर्ण छ सिंहले राम्रोसँग बुझेका छन्, अरुले त्यसलाई सदुपयोग गर्न सकेका छैनन् सिंहको यो कला प्रधानमन्त्री ट्रुडुलाई समेत चुनौतीपूर्ण छ,' प्रोफेसर रिचार्ड थप्छन्।
आफ्नो अग्रसरतामा विपक्षीको राम्रो प्रभाव क्षेत्रका मानिसलाई पार्टीमा ल्याउन सफल भएपछि जगमित हौसिएका छन्। 'म मेरो पार्टीको उज्ज्वल भविष्य देखिरहेको छु। आलोचकहरुले एनडिपीले प्रान्तीय चुनावमा जितेर सरकार गठन गर्न नसक्ने बताए पनि क्युबेक र अल्बर्टाको नतिजा उनीहरुको मुख थुन्न काफी छ। हामी प्रान्तीय निर्वाचनमा विजयी हुन्छौँ,' सिंह आत्वविश्वास प्रस्तुत गर्छन्।
सिंहले सबैको सपना साकार हुने समावेशी क्यानडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन प्रणालीको सुधार आदिवासी व्यक्तिहरुसँग सम्बन्ध सुधार र न्यायपूर्ण समाज उनका एजेन्डा हुन्।
एनडिपीको नेतामा विजयी भए संसदको सिटका लागि मरिहत्ते नगर्ने उनले बताएका छन्। संगठन सुदृढीकरणका लागि देश दौडाहामा लाग्ने सिंहको योजना छ। 'समानतामूलक समाज निर्माणको अभियान लिएर म देश दौडाहामा लाग्नेछु। मलाई सांसद बन्न कुनै हतारो हुनेछैन, लक्ष्य भेट्टाउने हतारो हुनेछ,' सञ्चार माध्मयसँग कुरा गर्दै उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।