काठमाडौं- नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन्। उनले बुधबार पदबाट राजीनामा दिएका हुन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका भट्टराईले आचरणविपरीत काम गरेको भन्दै वर्तमान सरकारले केहीदिन पहिले उनलाई स्पष्टीकरण सोधेको थियो।
भट्टराईले मृत प्रायः अवस्थामा रहेको नेपाल रेलवे कम्पनी लिमिटेडलाई पुनर्जीवन दिई पहिलो चरणमा जयनगर-जनकपुर-कुर्था खण्डमा यात्रु रेल सेवा सञ्चालन गर्न तयारी अवस्थामा पुर्याएको दाबी गरेका छन्।
'मैले आफ्नो दक्षता एवं क्षमताको प्रयोग गरी रेलवे ट्रयाक तथा अन्य भौतिक संरचना निर्माणको कार्य सम्पन्न गरी गराई नेपाल रेलवे कम्पनीले उक्त संरचना बुझ्ने अन्तिम अवस्थामा रहेको, नेपालमा हाल उपलब्ध हुन नसकेको रेलवेको सञ्चालन र मर्मत सम्भार सम्बन्धी कार्यको लागि दक्ष जनशक्तिको तालिम सम्पन्न गराएको, नेपालमा उपलब्ध हुन नसकेको रेल्वे सञ्चालन र मर्मत सम्भार सम्बन्धी उच्च दक्ष जनशक्ति भारत सरकारसँग सम्झौता सम्पन्न गरेर त्यस्ता जनशक्ति रेल सञ्चालनको निमित्त परिचालन हुन तयार अवस्थामा रहेको छ्, भट्टराईले राजीनामा पत्रमा भनेका छन्।
नेपाल भारत सीमा वारपार रेल सञ्चालनको स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर तयार गरी दुवै देशका सरकारहरुबाट अनुमोदन गराई सकिएकोले अब रेल सञ्चालन हुने मिति मात्र तय हुन बाँकी रहेको भट्टराईले उल्लेख गरेका छन्।
राजनीतिक प्रतिशोधबाट पूर्वाग्रही ढंगले, आफूलाई स्पष्टीकरण सोधिएको भट्टराईको आरोप छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।