काठमाडौं– राष्ट्रिय जनता पार्टीले प्रदेश ५ को प्रदेशसभा सदस्यमा कल्पना पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको पार्टीको अध्यक्ष मण्डल बैठकले पाण्डेलाई प्रदेश ५ को प्रदेशसभा सदस्य बनाउने निर्णय गरेको हो। समानुपातिक तर्फबाट प्रदेश ५ को प्रदेशसभा सदस्य छानिएकी विनु पन्तले स्वास्थ्यका कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गर्दै पाण्डेलाई सो पदमा नियुक्त गर्ने निर्णय गरिएको पार्टीका नेता राजेन्द्र महतोले जानकारी दिए।
पाण्डेलाई प्रदेशसभा सदस्यमा नियुक्त गर्ने पार्टीको निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराउने पनि पार्टीले जनाएको छ।
पार्टीको आगामी महाधिवेशनको तयारी र पार्टी संसदीय दल गठनका विषयमा आवश्यक निर्णय लिन बुधबार पनि अध्यक्ष मण्डलको बैठक बोलाइएको छ। सो बैठक पार्टी महाधिवेशनको तयारी र विधान निर्माण तथा संसदीय दल गठनका विषयमा केन्द्रित हुनेछ।
राजपाले महाधिवेशनको तयारी अन्तर्गत गाउँदेखि केन्द्रसम्मका सबै तहको अधिवेशनको काम अघि बढाउन राजनीतिक समितिको बैठक तत्काल बोलाउने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।