‘पैसा नभए त यहाँ पानी खान पनि पाइँदैन।’
सान्नानी बस्नेतले पसिना पुछिन्। उनको अगाडि पानीको बोतल भने छैन। नत्र घट्घटी पिउँथिन् होला।
सिन्धुपाल्चोकको डडुवामा खान–लाउन दुःख भए पनि पानी किन्नु पर्दैन थियो। जरुवाको पानी मनलाग्दी पिउन पाइन्थ्यो। अझ गाउँ–घरतिर पानी माग्दा मोही नै दिन्थे। सान्नानीको परिवारले त्यो गाउँ छाडेर काठमाडौँ पसेको १२ वर्ष भयो। दुःखका दिन हराए भनेको झनै गाढा भएर आए। ‘१२ वर्षमा खोलो फर्किन्छ भन्थे, दुःख त खोलो पो रहेछ,’ पछिल्लो समय उनलाई यस्तो लाग्न थालेको छ।
कुनै दिन श्रीमान्ले विदेश जाने इच्छा देखाएका थिए। दुःखले थिच्दै लगेपछि श्रीमान् आजित भएर यस्तो निर्णय गरेको उनी बुझ्थिन्। तर, उनैले रोकिन्। छुट्टिएर बस्नुभन्दा दुवै जना मिलेर काम गर्ने र जिन्दगी चलाउने योजना बनाइन्।
उनको योजनाअनुसार जिन्दगी चलिरहेकै थियो। तर, कोरोना महामारीले जिन्दगीको गति नै रोकिदियो। करिब डेढ वर्षअघि लकडाउन घोषणा भएपछि घर–व्यवहार अस्तव्यस्त भएको छ।
सोह्रखुट्टेमा दुई वटा कोठा भाडामा लिएका छन्। ९० वर्षीया सासू सँगै बस्छिन्। ६० वर्षीया आमाजू पनि उनीहरुसँगै छिन्। श्रीमान्ले दोस्रो बिहे गरेर बेवास्ता गरेपछि उनले आमाजूलाई पनि आफूसँगै राखेकी छन्। दुई छोराछोरी समेत गरेर ६ जनाको परिवार छ। केही गरी कोरोना भित्रियो भने वृद्ध सासूलाई धेरै जटिल होला भन्ने पीर छ। तर, निषेधाज्ञा खुकुलिएपछि बाहिर निस्किन थालेका छन्। ननिस्की व्यवहार पनि चल्दैन।
उनीहरुले फुटपाथमा व्यापार गरेर घर–व्यवहार चलाएका छन्। परिवारका तीन जनाले व्यापार गर्छन्। सान्नानी रत्नपार्कबाट भोटाहिटी जाने आकाशे पुलमा नाङ्लामा व्यापार गर्छिन्। श्रीमान् फुटपाथमा कपडा बेच्छन्। आमाजू पनि फुटपाथमा बसेर नाङ्लोमा नै व्यापार गर्छिन्। चुरोट, खैनी, जुत्ता पालिस गर्ने बुरुस, चुइगम, चकलेट, उनीहरुले बेच्ने यस्तै वस्तु हुन्। तर, आमाजू–नन्द फरक–फरक ठाउँमा बस्छन्। श्रीमान् भने कपडा बोकेर रत्नपार्क र टुँडिखेल वरिपरि घुमिरहन्छन्।
तीन जनाको कमाइले परिवार चलाउन कठिन थिएन। यस्तैमा अचानक आयो, कोरोना महामारी। अनि लकडाउन सुरु भयो। उनीहरुको व्यापार ठप्पै भयो। कमाइ रोकियो। खानै समस्या हुन थाल्यो। त्यति बेला भने श्रीमान्लाई विदेश पठाएको भए पनि हुने रहेछ भन्ने लाग्यो। तर, मन बुझाइन्। ‘विदेश भन्दैमा बोटमा पैसा फल्ने कुरा भएन, त्यता पनि महामारीले दुःख दिएकै छ,’ उनी भन्छिन्।
सान्नानी बिहान खानपिन तयार गर्छिन्। खुवाउँछिन्। कोठा सफा गर्छिन्। यस्तै काममा समय बित्छ। त्यसपछि आफ्नो काममा लाग्छिन्। ४० वर्ष पार भएकी सान्नानीको उही दैनिकी चलिरहेको छ।
उनको विवाह २०५८ सालमा भयो। एक छोरा र छोरी जन्मिए। छोराछोरी अहिले स्कुल पढ्दैछन्। छोरी कन्या मन्दिर सामुदायिक विद्यालयमा ११ कक्षामा पढ्छिन्। छोरो निजी विद्यालयमा पढ्दै छन्। लकडाउनले व्यापार ठप्प भएपछि छोरालाई पनि सामुदायिक विद्यालयमा नै सार्ने योजनामा छिन्।
उनी मधुमेह र उच्च रक्तचापको बिरामी हुन्। कमाइ ठप्प हुँदा औषधि किन्न धौ–धौ पर्न थालेको छ। तर, हिम्मत हारेकी छैनन्।
कोरोनाभन्दा अगाडि भूकम्पले दुःख दियो। २०७२ सालमा गएको भूकम्पले उनीहरुको जीवनमा नयाँ मोड ल्याइदियो। सिन्धुपाल्चोकमा ससुराले बनाएको घर भत्कियो। त्यसपछि नयाँ घर बनाउनुपर्ने भयो। सबै दाजुभाइ मिलेर घर बनाए। त्यसमा उनीहरुकै बढी लगानी भयो। त्यस घरमा जेठाजु बस्छन्। उनका नातिनातिना भइसकेकाले परिवार ठूलो छ।
गाउँको जग्गाजमिनमा खान–लाउन पुग्ने गरी उब्जाउ हुँदैन। अनि त्यो पनि जेठाजुलाई नै छाडिदिएका छन्। ‘काठमाडौंमा संघर्ष गरेर बाँच्न त सकिन्छ!’ यस्तै सोचेर हाम फालेका थिए।
गाउँको जग्गाजमिनमा खान–लाउन पुग्ने गरी उब्जाउ हुँदैन। अनि त्यो पनि जेठाजुलाई नै छाडिदिएका छन्। ‘काठमाडौंमा संघर्ष गरेर बाँच्न त सकिन्छ!’ यस्तै सोचेर हाम फालेका थिए।
तर, अचानक आइपुग्यो, कोरोना महामारी। अनि त गुजारा चल्ने बाटो नै बन्द भयो। लकडाउनमा धेरै मान्छे काठमाडौं छाडेर गाउँ गए। गाउँसँग उनीहरुको आड–भरोसा रहेछ। तर, उनीहरुको त गाउँसँग आडभरोसा पनि थिएन। काठमाडौंका कोठामै थुनिए। लकडाउन खुल्ने दिन पर्खिएर बसिरहे।
बल्ल बाहिर निस्किएर अलिअलि व्यापार गर्न थालेका थिए, फेरि निषेधाज्ञा लाग्यो। ‘अहिले व्यापार थालेको केही दिन मात्र भयो, फेरि कोरोनाको बिगबिगी बढ्यो भन्छन्। यसले त हामी गरिबलाई सकाएरै छाड्ने भयो,’ उनले भनिन्।
उनीहरुले पनि अरुबाट सामान किनेर ल्याएर बेच्नुपर्छ। मूल्य थोरै बढाएर बेचेर गुजारा चलाउने हो। कोरोनामा सामान ल्याउने ठाउँ बन्द हुन्छ। महङ्गी बढेको बढेकै छ। त्यसमाथि महानगर प्रहरीले फुटपाथमा सामान बेच्न दिँदैन। प्रहरी देख्नेबित्तिकै भागदौड चल्छ। ‘हामीलाई पनि महानगरलाई नटेरी फुटपाथमा व्यापार गर्ने रहर त कहाँ हो र? तर, बाँच्ने अरु उपाय पनि त छैन,’ उनी गुनासो गर्छिन्।
गाउँ र शहरमा धेरै फरक छ। गाउँमा माया गर्ने आफन्त हुन्छन्। दुःख सुनाउन पाउँदा पनि आधा कम हुन्छ। काठमाडौंमा त सुनिदिने पनि कोही छैनन्। ‘यहाँ त कुरा सुनाउन पनि पैसा पो तिर्नुपर्छ। पानी सित्तैमा पाउने त ठूलो कुरा भयो नि,’ उनले भनिन्।
उनीसँग कुरा सकेर उठ्नै लाग्दा भनिन्, ‘लौ नानी, कोरोनाले भन्दा भोकले मरिने पीर भयो। बाँचिएछ भने भेट होला।’ उनलाई फेरि निषेधाज्ञा लाग्ला भन्ने चिन्ता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।