भारत– मलयालम फिल्मकी अभिनेत्री सरन्या शशीको निधन भएको छ।
सोमबार तिरुवनम्तपुरमको एक अस्पतालमा उपचारका क्रममा ३५ वर्षीया शशीको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
गत मेमा कोरोना संक्रमण निको भएपछि उनको स्वास्थ्यमा समस्या देखिएको समाचारहरुमा जनाइएको छ। कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनमा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको थियो।
भारतीय सञ्चारमाध्यम एबीपीले पारिवारिक स्रोतलाई उल्लेख गर्दै जनाए अनुसार उनी केही वर्षदेखि ब्रेन ट्युमर रोगबाट पीडित थिइन्। केही पटक अप्रेसन गरिएको भएपनि उनीको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको थिएन।
सरन्यालाई सन् २०१२ मा ब्रेन ट्युमर देखिएको थियो । ट्युमरपछि उनको फिल्म करियर ओरालो लागेको थियो। तर उनी क्यान्सरबाट बाँचेका मानिसका लागि रोल मोडलका रुपमा काम गर्न थालिन्। सरन्याले ‘छोटा मुम्बई’, ‘थलप्पावु’, ‘बम्बे १२ मार्च’लगायतका फिल्ममा अभिनय गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।