काठमाडौं– जापानमा आयोजना भएको ३२औं गृष्मकालीन ओलम्पिक खेलकुद सम्पन्न भएको छ।
राजधानी टोकियोमा आइतबार आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरियो।
टोकियो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सयभन्दा बढी खेलाडी सहभागी थिए।
टोकियो ओलम्पिकमा सर्वाधिक पदक अमेरिकाले जित्यो। ३९ स्वर्ण पदक जितेको अमेरिकाले चीनलाई उछिन्यो।
अमेरिकाले ४२ रजत र ३३ कास्यसहित कुल १ सय १३ पदक हात जित्यो। यता, दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य गरी कुल ८८ पदक हात पार्यो।
तेस्रो स्थानमा रहेको जापानले कुल ५८ पदक जित्यो। २७ स्वर्णसहित १४ रजत र १७ कास्य जितेको जापानको यो ओलम्पिक इतिहासमै उत्कृष्ट नतिजा हो।
त्यस्तै, बेलायत २२ स्वर्णसहित कुल ६५ पदक जितेर चौथो स्थानमा रह्यो। यस्तै, ओलम्पिकको भन्डामूनी रहेर सहभागी भएको रसियन ओलम्पिक कमिटि २० स्वर्णसहित कुल ७१ पदक जितेर पाँचौं स्थानमा रह्यो।
यता, दक्षिण एसियाली राष्ट्रबाट भारतले १ स्वर्ण पदकसहित कुल ७ पदक जित्यो।
ओलम्पिकमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ती मध्ये कुनै खेलाडी पनि दोस्रो चरणमा पुग्न सकेनन्।
पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स) र सुटिङकी कल्पना परियारले भने राष्ट्रिय कीर्तिमान बनाएका थिए।
अब अर्को संस्करणको ओलम्पिक सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।