काठमाडौं- टोकियो ओलम्पिकअन्तर्गत ज्याब्लिङ थ्रो स्पर्धामा भारतलाई ऐतिहासिक स्वर्ण पदक दिलाएका निरज चोपडालाई हरियाणा सरकारले ६ करोड भारतीय रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। साथै, उनलाई सरकारले ग्रेड ‘ए’ को जागिरसमेत दिने जनाएको छ।
ओलम्पिक स्टेडियममा शनिबार सम्पन्न खेलमा निरजले ८७.५८ मिटर थ्रो फ्याँकेका थिए। निरज एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो भारतीय खेलाडीसमेत बनेका छन्।
यस्तै व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी दोस्रो भारतीय हुन्। २३ वर्ष अगाडि अभिनव बिन्द्राले सुटिङमा भारतका लागि पहिलो ओलम्पिक स्वर्ण जितेका थिए।
यो सफलतासँगै पञ्चकूलामा जमिन खरिद गर्न उनलाई ५० प्रतिशत छुट दिने भएको छ। यसका साथै उनलाई पञ्चकुलामा बन्ने एथ्लेटिक्सको सेन्टर फर एक्सिलेन्सको प्रमुखसमेत बनाउने भएको छ।
यस्तै, पञ्जाब सरकारले दुई करोड भारतीय रूपैयाँ दिने भएको छ। भारतीय क्रिकेट बोर्ड र महेन्द्र सिंह धोनीको टिम चेन्नई सुपर किङ्सले एक/एक करोड भारतीय रूपैयाँ दिने भएको छ।
व्यवसायी आनन्द महिन्द्राले उनलाई भारत फर्कने बित्तिकै एसयूबी ७०० गाडी उपहार दिने घोषणा गरेका छन्।
यस्तै, भारतीय एयरलाइन्स कम्पनी एयर इन्डिगोले निरजलाई एक वर्षसम्म निःशुल्क यात्राको सुविधा दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।