काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र अन्तर्राष्ट्रिय श्रमिक संगठन आइएलओका महानिर्देशक गाइ राइडरबीच स्विट्जरल्यान्डको जेनेभामा भेटघाट भएको हो।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनका लागि जेनेभा पुगेका मन्त्री विष्ट र राइडरबीच आज बिहान भेटघाट भएको हो। राइडरसँगको भेटमा मन्त्रीले नेपाल सरकारले श्रमिकको संरक्षणका लागि कानुनमै व्यवस्था गरेको विषयमा जानकारी गराएका थिए। नेपालले वातावरणमैत्री हरित रोजगार र बेरोजगार अन्त्य गर्ने आन्तरिक रोजगारलाई प्राथमिकतामा राखेर काम गर्नु सुरु गरेको विषयसमेत राइडरलाई जानकारी गराएका थिए।
राइडरसँगको भेटमा मन्त्रीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगारको समस्या समाधान गर्दै लैजाने बताएका थिए।
आइएलओका महानिर्देशक राइडरले नेपालमा श्रम र रोजगार क्षेत्रमा भइरहेका समस्या समाधान गर्ने र नीति तथा कार्याक्रम बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
श्रममन्त्री विष्टले ओमनका श्रममन्त्रीसँग त्रिपक्षीय श्रम सम्झौताका विषयमा पनि जेनेभामा छलफल गरेका छन्। नेपाल र ओमनबीच त्रिपक्षीय श्रम सम्झौताका विषयमा अन्तिम तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।