काठमाडाैं– ब्राजिलमाथि सोझो सेटमा जित निकाल्दै अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला भलिबलमा स्वर्ण जितेको छ।
एरिएक एरिनामा आइतबार सम्पन्न फाइनलमा दुई पटकको विजेता ब्राजिलमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अमेरिकाले स्वर्ण रक्षा गरेको हो। महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णसमेत हो।
अमेरिकाले पहिलो सेटमा २५–२१ को सहज जित निकाल्यो। दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेकाे अमेरिकाले तेस्रो सेटमा २५–१४ को सहज जित निकाल्दै विजयी भयो।
त्यसअघि आइतबार बिहान भएको खेलमा दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै सर्वियाले कास्यपदक जितेको थियाे। एकपक्षीय खेलमा सर्वियाले २५–१८, २५–१५ र २५–१५ को सेटमा जित निकालेको हाे।
स्मरण रहोस् यसअघि अमेरिकाले तीन पटक फाइनलमा स्थान बनाए पनि स्वर्ण जित्न सकेकाे थिएन। अमेरिका सन् १९८४, २००८ र २०१२ को ओलम्पिकमा रजतमा सीमित भयो।
अमेरिका १९८४ मा चीनसँग तथा २००८ र २०१२ मा ब्राजिलसँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।