Photo : Reuters / Kai Pfaffenbach काठमाडौं- निरज चाेपडाले डेब्यू ओलम्पिकमै भारतलाई स्वर्ण दिलाएका छन्।
टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फको ज्याभलिन थ्रोमा निरजले स्वर्ण जितेका हुन्। यो जारी ओलम्पिकमा भारतको पहिलो स्वर्ण हो।
ओलम्पिक स्टेडियममा शनिबार सम्पन्न खेलमा निरजले ८७.५८ मिटर थ्रो फ्याँकेका थिए।
यता, चेक रिपब्लिकका दुई खेलाडी याकुब भाद्लेचले ८६.६७ मिटरसहित रजत र भितेस्ज्लाभ भेसेलीले ८५.४४ मिटरसहित कास्य पदक जिते।
यस्तै, पाकिस्तानका अर्शद नदीम ८४.६२ मिटरको प्रदर्शनसहित पाँचौ भए। उनी नेपालमा करिब २ वर्ष अगाडि सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा ८६.२९ मिटरको कीर्तिमानका साथ ओलम्पिकमा छनोट भएका थिए।
निरजले स्वर्ण जितेसँगै भारतले टोकियो ओलम्पिकमा पदक संख्या ७ पुर्याएको छ। भारतले १ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ।
भारोत्तोलनमा मिराबाई चानुले रजत पदक जित्दै भारतको पदकको खाता खोलेकी थिइन्। कुस्तीमा रवी दहियाले रजत जिते।
कुस्तीका बजरङ पुनिया, ब्याडमिन्टनकी पीभी सिन्धु, बक्सिङकी लाभ्लिना बोर्गोहाई तथा पुरुष हकी टोलीले पनि कास्य पदक जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।