नेपालगन्ज– बर्दियाको गुलरिया नगरपालिकाको बडा नं. ११ लालपुरमा हिजो साँझ हिन्दूहरुको दुर्गा भबानीको मूर्ति र मुस्लिमहरुको मोहर्रमको ताजिया सेलाउने क्रममा दुई पक्षबीच झडपपछि उत्पन्न तनावलाई साम्य पार्न स्थानीय प्रशासनको पहलमा वार्ता जारी छ। वार्तामा दुवै पक्षका प्रतिनिधिसहित दलका स्थानीय प्रतिनिधि र नागरिक समाजका अगुवा सामेल छन्। संघीय समाजवादी फोरमका सांसद कासिम अली सिद्दिकी तनाव शान्त पार्न सक्रिय भएर लागेका छन्।
हिजो साँझको झडपपछि स्थितिलाई थप तनावग्रस्त हुन नदिन आज बिहान साढे ९ बजेदेखि स्थानीय प्रशासनले लालपुरदेखि ५ सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु आदेश जारी भएपछि नेपालगन्ज–गुलरिया सडकखण्डको यातायात सेवा अबरुद्ध हुँदा दशैंको टीका लगाउने क्रममा यात्रामा रहेका सयौं यात्रु अलपत्र परेका छन्।
ताजिया बिर्सजन र मूर्ति बिसर्पनमा निस्केका दुवै समूहलाई अगाडि जानका लागि बाटोको साइड दिने विषयमा उत्पन्न विवाद बढ्दै गएपछि झडप भएको थियो। तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १ सेल अस्रुग्यास प्रहार गरेको थियो। त्यतिले पनि स्थिति सामान्य नभएपछि ४ राउन्ड हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ।
झडपपछि हिजो साँझदेखि नै मुस्लिम समुदायका मानिसलाई घरबाट बाहिर ननिस्कन स्थानीय प्रशासनले आदेश जारी गरेको पूर्व श्रममन्त्री इस्तियाक राईले बताए।

झडपका क्रममा भागदौड तथा कुटाकुट हुँदा स्थानीय ३२ वर्षीया सुन्धारा रैदास, ३ वर्षीया बालिका रीता रैदास, १९ वर्षीय विष्णु राड, ६० वर्षीय गुडाना रैदास, ४२ वर्षीय देवीराम रैदास, ४० वर्षीय जगतपाल राड र ३५ वर्षीय सुखराना राड घाइते भएका छन्। कर्फ्युपछि घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मूर्ति र मोहर्रम बिसर्जन गर्ने मिति एकै दिन परेकाले केही दिनअघि १ दिनको फरकमा बिसर्जन गर्ने निर्णय भए पनि निर्णयलाई राम्रोसँग कार्यान्वयन गराउन नसक्दा अप्रिय घटना भएको स्थानीय बासिन्दाले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।