काठमाडौं- प्रदर्शनको झण्डै एक महिनापछि 'ब्ल्याक विडो' फिल्मकी मुख्य अभिनेत्री स्कारलेट जोनसनले बितरक कम्पनी डिज्नीविरुद्ध मुद्दा हालेकी छन्।
जोनसनले एमसीयुको आफ्नो पहिलो सोलो फिल्म ब्ल्याक विडोको ओटीटी रिलिजलाई लिएर मार्बल इन्टरटेन्मेन्टको मुख्य स्टुडियो डिज्नीविरुद्ध मुद्दा हालेकी हुन्।
सम्झौता अनुसार पाउनुपर्ने पारिश्रमिकको ठूलो हिस्सा सिनेमाको हलको कमाइ थियो। तर डिज्नीले फिल्म हलमा लागेसँगै ओटीटीमासमेत रिलिज गरेपछि उनी रिसाएकी हुन्।
आफ्नो स्ट्रिमिङ साइटको ब्यापार बढाउन फिल्म ओटीटीमा पनि रिलिज गरिएको उनको आरोप छ। उनले लस एन्जलसको अदालतमा मुद्दा दायर गरेकी छन्। ३ सय ५० करोड भन्दा धेरै डलरको कमाइ ओटीटीका कारण गुमेको उनले बताएकी हुन्।डिज्नीले भने उनको यो मुद्दाप्रति आपत्ति जनाएको छ ।
‘ब्ल्याक विडो’ यो महिनाको ९ तारिखमा सिनेमा घरमा रिलिज भएको हो। योसँगै फिल्मलाई डिज्नी प्लसले ओटीटी प्लेटफर्ममा ३० डलर मूल्य तोक्दै रिलिज गरेको थियो। पछिल्लो वर्षको मार्चपछि अहिलेसम्म सिनेमा घरमा रिलिज भएका हलिउड फिल्ममध्ये पहिलो विकेन्डमा सर्वाधिक कमाई गर्न सफल यो फिल्मले पहिलो विकेन्डमा अमेरिकी ८०.४ मिलियन डलरको कमाइ गरेको छ ।
सिनेमा हलमा मात्र रिलिज गरेको भए फिल्मको कमाइ अझ धेरै हुने स्कारलेटले बताएकी छन्। डिज्नीले जानीबुझी मार्वेलसँग भएको सम्झौताको उल्लंघन गरेको उनको भनाइ छ।
डिज्नीले मार्चमा ‘ब्ल्याक विडो’ लाई सिनेमा घरसँगै ओटीटीमा रिलिज गर्ने घोषणा गरेको थियो। फिल्मले कम क्षमतामा खुलेका सिनेमा हलमा रिलिज भएर पनि बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।