टोकियो- टोकियो ओलम्पिक २०२० बाट जबरजस्ती स्वदेश फर्काउन खोजिएकी बेलारुसकी एक खेलाडीलाई पोल्याण्डले शरण दिएको छ।
स्वदेश फर्किए जेल जानुपर्ने डरले अस्ट्रिया सरकारसँग शरण मागेकी क्रिस्टिना सिमनौस्कायालाई पोल्याण्डले शरण दिएको हो। उनी सोमबार नै टोकियोस्थित पोलिस दूतावासमा पुगेकी थिइन्।
२०० मिटर दौडको महिला इभेन्टमा प्रतिस्पर्धा गर्न जापान पुगेकी २४ वर्षीया क्रिस्टिनाले युरोपियन रेडियो स्टेसन फर बेलारुससँगको कुराकानीमा आफू असुरक्षित रहेको भन्दै अस्ट्रियासँग शरण मागेकी थिइन्।
‘उनलाई मानविय भिषा दिइएको हो। उनी पोल्याण्डमै बस्न चाहे बस्न सक्छिन्। यहाँ बसेर खेल जीवन पनि अगाडि बढाउन सक्छिन्,’दूतावासका एक अधिकारीले भने।
गत शुक्रबार उनले महिलाहरूको १०० मिटरको दौडमा प्रतिष्पर्धा गरेकी थिइन्। सोमबार उनी दुई सय मिटरमा दौडिने तालिका थियो।
तर, केही खेलाडीको एन्टीडोपिङ परीक्षण नगरेको भन्दै आफूलाई रिले दौडमा पनि राखिएको उनले बताएकी छिन्। आफू उक्त रिले दौडका लागि खेल्न नआएको भन्दै उनले सामाजिक सञ्जालमार्फत् त्यसको विरोध गरेकी थिइन्।
उक्त विरोधपछि आइतबार बिहान उनका प्रशिक्षक उनको कोठामा आए र सामान प्याक गर्न निर्देशन दिएका थिए।
यता, बेलारुसको राष्ट्रिय ओलम्पिक समितिले भने उनको भावनात्मक र मनोवैज्ञानिक स्थिति ठीक नभएको दाबी गरेको छ। त्यसैले उनलाई घर फिर्ता पठाउन विमानस्थलमा लगिएको दाबी गरेको छ। तर, उनले घर फर्किन अस्वीकार गर्दै यस विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)लाई हस्तक्षेप गर्न आग्रह गरेकी थिइन्।
‘उनीहरुले मेरो अनुमतिविना मलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। म आईओसीसँग यसमा हस्तक्षेपको लागि अपिल गर्छु,’ म्यासेजिङ एप टेलिग्राममा पोस्ट गरिएको एक भिडियोमा उनले भनेकी छिन्।
आईओसीले उनको विषयमा जानकारी प्राप्त भएको भन्दै र बेलारुसको राष्ट्रिय ओलम्पिक समितिसँग स्पष्टीकरण मागेको छ। आईओसीले विज्ञप्ति निकाल्दै क्रिस्टिनासँग सम्पर्कमा रहेको उल्लेख गर्दै उनी सुरक्षित रहेको बताएको छ।
बेलारुसको ओलम्पिक टोलीले उनलाई २०० मिटर र ४०० मिटरको दौडमा भाग लिनबाट बञ्चित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।