टोकियो– बेलारुसबाट टोकियो ओलम्पिकमा सहभागिता जनाउन आएकी एक खेलाडीले अस्ट्रिया सरकारसँग शरण मागेकी छिन्।
२०० मिटर दौडको महिला इभेन्टमा प्रतिस्पर्धा गर्न जापान पुगेकी क्रिस्टिना सिमनौस्कायाले आफू असुरक्षित रहेको भन्दै अस्ट्रियासँग शरण मागेकी हुन्। क्रिस्टिनाले युरोपियन रेडियो स्टेसन फर बेलारुससँगको कुराकानीमा आफू मुलुक फर्किन डराइरहेको बताएकी छन्।
बेलारुसको राष्ट्रिय ओलम्पिक समितिले भने उनको भावनात्मक र मनोवैज्ञानिक स्थिति ठीक नभएको बताएको थियो। त्यसपछि उनलाई घर फिर्ता पठाउन विमानस्थलमा लगिएको थियो। तर, उनले घर फर्किन अस्वीकार गर्दै यस विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)लाई हस्तक्षेप गर्न आग्रह गरेकी छिन्।
‘उनीहरुले मेरो अनुमतिविना मलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। म आईओसीसँग यसमा हस्तक्षेपको लागि अपिल गर्छु,’ म्यासेजिङ एप टेलिग्राममा पोस्ट गरिएको एक भिडियोमा उनले भनेकी छिन्। आईओसीले उनको विषयमा जानकारी प्राप्त भएको भन्दै र बेलारुसको राष्ट्रिय ओलम्पिक समितिसँग स्पष्टीकरण मागेको छ।
क्रिस्टिनाले इन्स्टाग्राममार्फत् प्रशिक्षकको लापरबाहीको विषयमा पनि बोलेकी थिइन्। उनले टोलीको केही साथी प्रतियोगिताको लागि अयोग्य हुँदाहुँदै पनि उनीहरुलाई ४०० मिटरको ‘सर्ट नोटिस’मा सामेल गरेको आरोप लगाएकी छिन्। बेलारुसको ओलम्पिक टोलीले उनलाई २०० मिटर र ४०० मिटरको दौडमा भाग लिनबाट बञ्चित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।