काठमाडौं– प्रदेश १ का लगानीमैत्री क्षेत्रमा सहकार्य गर्न उद्योग संगठन मोरङले प्रदेश सरकारसँग आग्रह गरेको छ।
प्रदेश १ को सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र प्रदेश योजना आयोगसँगको छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले सरकारसँग मिलेर बहुआयामिक कार्यक्रम सञ्चालन गर्न आफूहरू तयार रहेको बताएका थिए।
आर्थिक तथा औद्योगिक क्षेत्रको हितलाई ध्यानमा राखेर आर्थिक गतिविधि चलायमान बनाउन निजी क्षेत्रले सम्बन्धित मन्त्रालयका मन्त्री, राज्यमन्त्री र योजना आयोगका उपाध्यक्ष समक्ष आग्रह गरेको हो।
संगठनले प्रारम्भ गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम, सिप विकास कार्यक्रम, इन्टरप्राइजिङ इष्ट र सिप विकास एकाइको स्थापना जस्ता कार्यले प्रदेशको औद्योगिक तथा आर्थिक क्षेत्रलाई अभिवृद्धि गरेको अध्यक्ष प्याकुरेलको भनाइ थियो।
ती क्षेत्रहरूमार्फत प्रदेशमा लगानीमैत्री वातावरण तयार हुने भन्दै उनले लगानीका लागि सहकार्य गर्न प्रदेश सरकारसँग आग्रह गरेका हुन्। कार्यक्रममा मोरङ व्यापार संघको सहकार्यमा संयुक्त रूपमा सुरू गरिएको ‘मेरो देश, मेरै उत्पादन’ अभियान अघि बढाउन तथा अन्तरराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माण प्रक्रियालाई तीव्रता दिन प्रदेश सरकारसमक्ष आग्रहसमेत गरिएको थियो।
कार्यक्रममा सामाजिक विकासमन्त्री उषाकला राईले समग्र आर्थिक विकासमा संगठनले प्रस्तुत गरेको अवधारणामा मन्त्रालयले सहकार्य गर्ने बताइन्। युवालाई स्वदेशमै स्वरोजगारीको अवसर सृजना गर्न र आर्थिक विकासमा संलग्न गराउने वातावरण तयार गर्न मन्त्री राईले आग्रह गरेकी थिइन्।
उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले सरकारले तीनखम्बे अर्थतन्त्रलाई प्राथमिकतामा राखेको भन्दै संगठनले प्रस्तुत गरेको योजनाले प्रदेश १ को पहिचानलाई स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
सो अवसरमा प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले ‘स्टार्टअपको क्षेत्रमा युवा जनशक्तिलाई सहभागी गराउन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।