काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वामपन्थी दलले बहुमतको दम्भमा जनभावना विपरीत कदम चालेको आरोप लगाएका छन्।
नेपाली विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै सिटौलाले जनभावना विपरीत चलेको कम्युनिस्ट सरकारलाई सही बाटोमा ल्याउने कार्यमा संसदमा कांग्रेस सांसदहरुको प्रस्तुति खासै नदेखिएको टिप्पणी गरे।
‘सरकारलाई ट्र्याकमा ल्याउन कांग्रेस सांसदहरु निदाउनु भएन’, उनले भने, ‘अहिले चुप लागेर बस्ने अवस्था छैन।’
नेता सिटौलाले सरकारले बालकृष्ण ढुंगेललाई कैद मिनाहा गरेकोमा पनि आपत्ति प्रकट गरे। पीडित पक्षसँग सुझाव समेत नलिई सरकारले ज्यान मार्ने घटनामा संलग्न ढुंगेलको कैद मिनाहा गरेको बताए। द्वन्द्वकालका पीडितलाई न्याय दिने विस्तृत शान्ति सम्झौताको सर्तलाई समेत खण्डित हुनेगरी सरकारले कैद माफी दिएको उनको भनाइ थियो।
सिटौलाले पार्टीभित्र सभापतिको हैकमवादी प्रवृत्ति रहेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरे। कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताले कांग्रेसलाई सच्चिनेगरी मत दिएको धारणा राखे।
कार्यक्रममा प्रतिनिधिसभाको चुनाव प्रचारका क्रममा उदयपुरमा बम विस्फोटका परी घाइते भएकी उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति मिरा कटुवाललाई नेविसंघ अमेरिका शाखाले जुटाएको सहयोग रकम तीन लाख हस्तान्तरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।