काठमाडौं- विश्व नम्बर एक सर्बियन खेलाडी नोभाक जोकोभिच टोकियो ओलम्पिक २०२० अन्तर्गत टेनिस प्रतियोगिताबाट बाहिरिएका छन्।
शुक्रबार भएको सेमिफाइनलमा जर्मनीका एलेक्सजेन्डर ज्वेरभले २० पटकका ग्राण्डस्लाम विजेता जोकोभिचलाई पराजित गरेका हुन्। उनले जोकोभिचलाई १–६, ६–३ र ६–१ ले पराजित गरे।
गत महिना जोकोभिचले विम्बल्डनको पुरुष एकल फाइनलमा सातौं वरीयताका इटालीका खेलाडी म्याटिओ बेरेटिनीलाई पराजित गर्दै २०औं ग्रान्डस्लाम उपाधि जितेका थिए।
यस उपलब्धिसँगै जोकिोभिच सर्वकालीन महान टेनिस खेलाडीको सूचीमा परेका छन्।
जोकोभिचले ६ पल्ट विम्बल्डन जितेसँगै ९ पल्ट अस्ट्रेलियन ओपन, २ पल्ट फ्रेन्च ओपन र ३ पल्ट यूएस ओपन जितेका छन्।
उनले सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमानका लागि रोजर फेडेरर र राफेल नाडालको बराबरीसमेत गरेका छन्।
यद्यपी, जोकोभिचको गोल्डेन स्लामको सपना भने अधुरै रह्यो। अब एलेक्सजेन्डरले स्वर्ण पदकको लागि रुसी खेलाडी करिन खाचानोभसँग खेल्नेछन्।
उनी स्पेनीस खेलाडी पाब्लो बुस्टालाई पराजित गर्दै फाइनलमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।