काठमाडौं- विवाद साम्य नभएका स्थानमा क्रियाशील सदस्यता टुंग्याउन नेपाली कांग्रेसले मापदण्ड बनाउने भएको छ। शीर्ष तहका नेताबीच शुक्रबार भएको छलफलले मापदण्ड बनाउने निर्णय गरेको हो।
बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्यताका विषयमा विवाद छ। पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले मापदण्ड बनाउने विषयमा छलफल गरेको हो। कार्यतालिका ल्याउने तर कार्यान्वयन नहुने अवस्था आउन नदिन क्रियाशील सदस्यता टुंग्याएपछि मात्रै कार्यतालिका प्रकाशित गर्नुपर्ने धारणा सभापति देउवाले व्यक्त गरेका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले विधिसंगत तरिकाले क्रियाशील सदस्यता टुंगिनुपर्ने राय दिएका थिए। बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, सहमहामन्त्री डा प्रकाशशरण महत, नेता कृष्णप्रसाद सिटौला लगायतको उपस्थिति थियो। बैठकमा सहभागी सहमहामन्त्री महतले विवाद बाँकी रहेका स्थानमा मापदण्ड बनाएर टुंग्याउने निर्णय भएको जानकारी दिए।
क्रियाशील सदस्यता छानविन समितिले ती दुई जिल्लाबाट नामहरु ढिलो आएकाले अध्ययन गर्न नपाएको प्रष्ट्याएको थियो। असार २५ पछि नाम आएकाले बारा र सप्तरीको छानबिन नै नगरिएको समितिका एक सदस्यले बताए।
धनुषा ४ र सर्लाहीको २ मा नवीकरण तथा नयाँ क्रियाशीलको विवाद छ।
धनुषा ४ मा १३ औं महाधिवेशन देखिको विवाद छ। १३ औं महाधिवेशनको विवाद थाति रहेकाले क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो क्षेत्राधिकार नभएको प्रष्टाएको छ।
सिन्धुपाल्चोक र रसुवामा अन्य दलबाट कांग्रेस प्रवेश गरेका कार्यकर्ताको समायोजन देखिको विवाद छ। फरक फरक प्रकृतिका विवाद भएकाले त्यसै अनुसारको मापदण्ड बनाएर समाधान निकाल्ने बताइएको छ।
क्रियाशील सदस्यता विवाद १४ औं महाधिवेशनमा निकाल्न नसकिएका स्थानको विवाद १५ औंमा समाधान निकाल्ने विकल्प पनि अघि सारिएको छ। शीर्ष तहका नेतालाई क्रियाशील सदस्यता विवाद टुंगाउन पाँच दिनको समयावधि दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।