काठमाडौं- नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले संविधानसभाका अध्यक्ष तथा एमाले सांसद सुवास नेम्वाङमाथि व्यंग्य गर्दै उनले महाभारतका पात्र सकुनीको रोल खेल्दा केपी शर्मा ओलीको हालत दुर्योधनको जस्तो भएको बताएकी छिन्।
नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भनेकोमा शाहीले कटाक्ष गरेकी हुन्। 'संविधानसभाको अध्यक्षज्यूले परमादेशको सरकार भन्नुहुन्छ। संविधानको अभिभावक नै सकुनीको रोलमा हुनुहुन्छ। सकुनीले रोल खेल्दा दुर्योधनको हालत के भएको थियो? आज त्यस्तै गरेर सकुनीको रोल खेल्दै गर्दा 'बा'लाई बालुवाटारदेखि बाजागाजासहित बालकोटको बाह्र तलेसम्म पुर्याउन सफल हुनुभयो। यसका लागि म उहाँलाई धन्यवाद दिन्छु,' उनले थपिन्, 'सकुनीको रोल खेल्दै गर्दा दुर्योधनको जस्तो हालत हाम्रो पूर्वप्रधानमन्त्रीज्यूको भयो। पूर्वसरकारको भयो।'


शाहीले अहिलेको सरकार पाँच पाण्डवको भएको बताइन्। तर, नेम्वाङप्रति कटाक्ष जारी राखिन्। 'परमादेश नै हो भन्दै गर्दा यो प्रतिनिधि सभामा आउँदै गर्दा उहाँलाई अलिकति अप्ठ्यारो लाग्छ होला। किनभने संविधानको अभिभावकको नाताले यो हलभित्र पस्दै गर्दा उहाँलाई एक खुट्टा बाहिर र एक खुट्टा भित्र टेकौं भन्ने मन हुन्छ होला। मैले उहाँलाई राजीनामा नै दिनुस् त भन्दिनँ, भने पनि दिनुहुन्न होला। तर चिन्ता के हो भने, अब प्रतिनिधि सभाको अवधि सकिएपछि संविधानको व्याख्या गरेर बस्नुहुन्छ होला कि सकुनीकै रोलमा बस्नुहुन्छ होला। मैले मात्रै भनेको होइन, जनताको आवाज हो,' उनले भनिन्।
उनले नेम्वाङलाई नेपाली जनताले संविधानको अभिभावक भनेर चिन्ने गरेको बताइन्। र, नेम्वाङकै शैलीमा थपिन्- 'संविधानको धारा ७६ (५) देखि माथि लेख्दाखेरी त्यतिबेला संविधान सभाको अध्यक्ष को हुनुहुन्थ्यो, मलाई थाहा छैन, म त्यतिबेला संविधानसभाको सदस्य थिइनँ।'
शाहीले पाँच प्रमुख दलमा प्रमुख नेताहरु हाम्रो संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष पुग्दा उनले जनादेशअनुसार निर्णय नगरेर अदालत पठाएको बताइन्। र, १४६ जना सांसदले दिनभर अदालतमा उभिएर सनाखत गरेको बताइन्। 'हामी जनादेशबाट आएका हौं। यो जनादेशकै सरकार हो,' उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।