काठमाडौं- लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ।
प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै उनीहरुलाई पदमुक्त गरेको हो। पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन्।
उनीहरुले प्रदेश सभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने जसपा (उपेन्द्र यादव पक्ष)को ह्विप उल्लंघन गरेर पक्षमा मतदान गरेका थिए। यही कारण जसपा कार्यकारिणी समितिको बैठकले असार ३ गते उनीहरु तीन जनासहित सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको थियो। रायमाझीले आफू पार्टी संस्थापन पक्षतर्फ लाग्ने बताएकाले उनलाई कारबाही गरिएन। तर, बाँकी तीन जनाले त्यो बेला स्पष्टीकरण दिए पनि त्यसपछि पनि सरकारबाट फिर्ता हुन पार्टीले दिएको निर्देशन उल्लंघन गरेकाले कारबाही गरिएको बताइएको छ।
जसपा लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार मात्रै प्रदेश सभालाई कारबाहीका लागि पत्र लेखेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।