फाइल तस्वीर
काठमाडौं- २०६२/६३ सालको जनआन्दोलनपछि नेपाली राजनीतिमा चर्चित शब्द फ्युजनलाई कन्फ्युजन बनाएको कांग्रेस नेता प्रदीप गिरिले बताएका छन्। शुक्रबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले त्यतिबेला लोकतन्त्र र जनवादलाई फ्युजन गर्ने नाममा एक ठाउँमा उभिएको बताए।
'एउटा शब्द प्रचलनमा थियो- फ्युजन, फ्युजन, फ्युजन। पाँच वर्षमा एक पटक चुनाव गर्ने, अखबार छाप्न दिने, मनपरी गाली गर्न दिने, भोट पनि गराउने, लोकतन्त्र भन्ने। मान्छे भोका छन्, नांगा छन्, मरिरहेका छन्। त्यही पनि लोकतन्त्र। अर्कोतिर, एकदलीय व्यवस्था चलाउने। त्यसलाई नयाँ जनवाद भन्ने। तर सानो आन्दोलन पनि नगरीकन सोभियत युनियन हट्नुपर्ने। चीनको भविष्य पनि के हुन्छ, थाहा छैन। यी दुइटालाई फ्युजन गर्ने नाममा हामी एक भएका थियौं। गिरिजाप्रसादको नेतृत्वमा विश्वास गरेर माओवादी, मधेसवादी सरकारमा आएका थिए। त्यो फ्युजन हामीले कन्फ्युजन बनाएका रहेछौं', उनले भने।


लोकतन्त्रको मर्यादालाई कायम राख्दै, मर्ममा पुग्दै लोकतन्त्रलाई बढीभन्दा बढी जनमुखी बनाउने दायित्व नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवाको भएको उनले बताए।'लोकतन्त्रको जडसूत्रवादी परिभाषाबाट हामी उठ्नुपरेको छ, प्रधानमन्त्रीज्यू। त्यस्तै, २१औँ शताब्दी आइसकेको छ। २०औँ शताब्दीमा फेल भएका अनुभूतिलाई राजनितिक स्तरमा बुझ्नुहोस्। न चीनको त्यो चकाचौध नै सक्कली हो, पाँच दश वर्षमा त्यसको नक्कलीपना त्यसरी नै थाहा हुन्छ, जसरी सोभियत युनियन गर्ल्यामगुर्लुम ढलेको थियो। न त उत्तर कोरियाका ती वंशाणुगत साम्यवादी नै वास्तविक साम्यवादी हुन्। आउनुस्, अब नयाँ किसिमबाट २०औँ शताब्दीको इतिहास हेरौँ। तथाकथित बेलायतमा जन्मिएको संसदीय व्यवस्था पनि नांगिएको छ। जनवाद, बहुदलवाद, बहुदलीय जनवाद अल्पमत भएको छ। यिनीहरुलाई नबुझी हामी अगाडि बढ्न सक्दैनौं। तर सम्मानका नाममा हामीले पुराना गीत गाएर, तन्त्र गाएर, शास्त्र भट्याएर, शास्त्रको किमतमा लोकलाई बुझ्न छाड्यौँ भने हाम्रो नाम मात्रै रहन्छ', उनले भने।
उनले यसपटक यो सरकार असफल भयो शेरबहादुर देउवा मात्रै नभएर संविधान असफल हुने उनले बताए। 'संविधान असफल भएर केही बिग्रिँदैन। व्यवस्था असफल हुन्छ। त्यो हुनु भनेको सोच्दा मात्रै पनि मलाई कहाली लाग्छ। संविधानमा हस्ताक्षर नगरेको एक व्यक्ति म भन्दैछु, बाटो अर्को देख्दिनँ। त्यसैले यो संविधानको रक्षा गर्न म अग्रपंक्तिमा आएर बोलेको हुँ, लेखेको हुँ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।