काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् सांसद गगनकुमार थापाले अहिले पूर्ववर्ती सरकारका प्रधानमन्त्री (केपी शर्मा ओली)ले यो गरेनन्, त्यो गरेनन्, भनेर भन्ने बेला नभएको बताएका छन्।
नेता थापाले कांग्रेस नेतृत्वको वर्तमान सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भनेर महसुस गराउनुपर्ने बताए। नेता थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको पनि बताए।
वीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’नपाउने उल्लेख गर्दै कहिँकतै नचुक्न पनि आग्रह गरे।
'कुनै पनि 'एक्सक्युज' यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन। केपी ओलीले यो गरेन, त्यो गरेन् भनेर भन्ने दिन अब गए । अव यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो,' थापाले भने।
ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधारनै भत्काउने काम गरेको नेता थापाले आरोप लगाए। 'संविधान र व्यवस्था माथिनै अनेकन आशंका उब्जाउने जुन काम भएको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नु पर्दछ,' थापाले भने।
नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए। फरक प्रसंगमा उनले पार्टीको आसन्न १४औं महाधिवेशनको मिति तलमाथि नगर्न नपाइने पनि बताए।
'पाटीको महाधिवेशनको तिथिमिति धेरै तलमाथि गर्न पाइँदैन । हाम्रो संविधानले ५ वर्ष पछि पार्टीको महाधिवेशनको मिति ६ महिना थप गर्न मिल्ने व्यवस्था गरेको छ,' नेता थापाले भने, 'संविधानको सो व्यवस्था अनुसार अव महाधिवेशनको मिति पछि सार्न मिल्दैन । संविधानले किटान गरेको व्यवस्था काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले उलंघन गर्न मिल्दैन।'
नेता थापाले पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक नभएको पनि बताए। पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भएपनि पार्टी नेतृत्व विधानअनुसार चल्न नसकेको भन्दै थापाले आपत्ति जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।