काठमाडौंं– नेकपा एमालेभित्रको संकट समाधानको प्रयत्न भइरहँदा नेताहरुको भेटवार्ता फेरि सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीसँगको तीब्र असमझदारीका कारण समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न एमाले स्थायी कमिटी सदस्य विष्णु पौडेल नेपालनिवास कोटेश्वर पुगेका छन्।
पौडेल विघटित एमाले एकता कार्यदलमा अध्यक्ष ओलीतर्फका सदस्य हुन्। बिहीबार मात्र विघटित कार्यदलका संयोजक एवं स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले नेपाललाई भेटेका थिए। भेटका क्रममा नेम्वाङले अध्यक्ष ओलीसँग भेटेर संवाद गर्न नेपाललाई आग्रह गरेका थिए।
ओलीले शनिबारसम्म एमाले एकता प्रक्रिया टुंग्याउनेगरी काम अघि बढाउन बुधबार मात्र महासचिव ईश्वर पोखरेल तथा स्थायी कमिटी सदस्यहरु नेम्वाङ र पौडेललाई आग्रह गरेका थिए। यो प्रक्रिया टुंग्याएर चाँडै स्थायी कमिटी बैठक बोलाउने ओलीको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।