काठमाडौं–सांसद पदमा पुनर्बहालीको मागदाबीसहित नेकपा एमालेका ४ जना (पूर्व माओवादी) नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ।
शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको भएपनि निवेदकका कानुन व्यवसायीको माग अनुसार पेसी स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ।
यसअघि बिहीबार पेसी तोकिएकामा सुनुवाइका लागि समय अभाव भएकाले हेर्न नभ्याइने सूचीमा परेपछि आज पुनः सुनुवाइ तोकिएको थियो। तर निवेदकपक्षका कानुन व्यवसायीले स्थगित गर्न माग गरेपछि सुनुवाइ सरेको हो।
पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।