काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)ले शनिबार दलको नेता चयन गर्ने भएको छ। नेता चयन गर्न भोलि बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा संसदीय दलको बैठक बस्ने जसपाका नेता महेन्द्र राय यादवले बताए।
निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो।
जसपा एक भए पनि संसदीय दलको विधान बन्न नसक्दा दलको नेतामा महन्थ ठाकुर राजपा र उपेन्द्र यादव समाजवादी पार्टीको दलका नेता थिए। जसपा आधिकारिकता उपेन्द्रले पाएपछि पुनः दलको नेता चयन प्रक्रियामा जाने लागेको हो।
‘शुक्रबार सरकारमा जाने मन्त्री र दलको नेतामा सहमति गर्ने विषयमा अनौपचारिक छलफल हुन्छ,’ जसपाका एक नेताले भने, ‘शुक्रबार सबै सहमति भएमा शनिबार दलको नेताको निर्वाचनसँगै सरकारमा जाने विषय टुंगो लाग्छ।’
जसपा दलको नेता पुनः अध्यक्ष यादव नै हुने देखिएको छ। यद्यपि, पार्टीमा छलफल चलिरहेकाले घोषणा गरिएको छैन। उपेन्द्रपक्षमा २२ सांसद छन्। बाँकी १० सांसद महन्थतिर लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।