काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू पार्टी एकताको विषयमा छलफल गर्न सकारात्मक भएको बताएका छन्।
बिहीबार अध्यक्ष केपी शर्मा ओली पक्षका नेता (स्थायी कमिटी सदस्य) सुवासचन्द्र नेम्वाङसँगको भेटमा नेता नेपालले पार्टी एकताको विषयमा छलफल गर्नका लागि सकारात्मक भएको बताएका हुन्।
नेपाललाई भेट्न गएका नेता नेम्वाङका अनुसार नेपालले पार्टी एकताका लागि कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको सन्दर्भमा पनि आफू सकारात्मक भएको बताएका छन्।
'आज (बिहीबार) साढे १ बजे बोलाउनुभएको थियो, त्यही टाइममा गएर मैले उहाँ (नेपाल)लाई भेटेँ। पार्टी एकताका लागि भएको १० बुँदे सहमतिलाई व्यवहारमा उतार्नुपर्छ भनेर यसअघि पनि राखिएको प्रस्तावबारे स्मरण गराएँ,' नेपालसँगको भेटबारे जानकारी दिँदै नेम्वाङले नेपाल लाइभसँग भने, 'उहाँले सहमतिका विषयमा म सकारात्मक छु भन्नुभयो।'
१० बुँदे सहमतिलाई व्यवहारमा उतार्नका लागि २ शीर्ष नेता (ओली र नेपाल)बीच भेटवार्ता अपरिहार्य रहेको विषयमा पनि आफूले नेपाललाई स्मरण गराएको नेम्वाङको भनाइ छ।
'तपाईंहरु २ जना नेताहरु भेटेर कुरा गर्नुपर्छ। १० बुँदे सहमतिलाई व्यवहारमा उतार्नुपर्छ भन्ने कुरालाई स्मरण गराएँ,' नेम्वाङले भने, 'उहाँले ठीकै छ। त्यसमा पनि म सकारात्मक छु, छलफल गरौं भन्नुभयो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।