काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले भदौदेखि संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने भएको छ। उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएपछि बसेको कार्यकारिणी समितिको बैठकले भदौदेखि ४ महिना संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
कार्यकारिणी समितिको बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने निर्णय जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जानकारी दिएका छन्।
अध्यक्ष भट्टराईका अनुसार संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालनका लागि केन्द्रीय कार्यकारिणी सदस्यहरूको 'अभियान केन्द्रित अस्थायी कार्यविभाजन' समेत गरिएको छ।
३ दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा र अनुशासन आयोगको प्रमुखमा नरसिंह चौधरीलाई जिम्मा दिने निर्णय पनि गरेको छ।
यस्तै, अनुशासनसम्बन्धी छानबिनका लागि नवराज सुवेदीको संयोजकत्वमा समिति बनाइएको छ। सुवेदी संयोजक रहेको समितिमा गोविन्द चौधरी, प्रकाश अधिकारी, दुर्गा सोव र सुशीला श्रेष्ठ 'सदस्य' रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।