काठमाडौं– नाम चलेका कानुन व्यवसायी (वकिल)हरूले नै 'न्यायाधीश मिलाउने' नाममा पैसा उठाउने गरेको विषय सार्वजनिक भएको छ। अदालत भित्रको विकृति अध्ययन गर्न गठित समितिको प्रतिवेदनमा न्यायाधीशलाई मिलाउने नाममा कानुन व्यवसायीहरुले पैसा उठाउने गरेको विषय उल्लेख छ।
न्यायपालिकाको विकृति, विसंगति, अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे अध्ययन गर्न सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित समितिले न्यायपालिकाको 'अभिन्न अङ्ग' मानिने कानुन व्यवसायीभित्र पनि धेरै विकृति रहेको औंल्याएको छ।
‘न्यायाधीश र फाँटमा मिलाउँछु भनि कानुन व्यवसायीले अतिरिक्त रकम असुली गर्ने गरेकोसम्म पाइयो। सेवाग्राहीले समेत यस्तो गुनासो पटक पटक गर्ने गरेका छन्,’ समितिको प्रतिवेदनमा भनिएको छ।
रकम असुली गर्ने कार्यमा नाम चलेका र नचलेका सबै कानुन व्यवसायीहरु संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।
आफूले लिएको मुद्दा जसरी पनि जित्नुपर्ने मान्यता पनि कानुन व्यवसायीमा हाबी भएको समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। मुद्दामा न्याय गर्ने भन्दा पनि जसरी पनि आफैंले जित्नुपर्ने कुरा हाबी भएको गुनासो र इजलास तथा अन्यबाट देखिएको प्रतिवेदनमा उल्लेख छ।
कानुन व्यवसायीको शुल्क अपारदर्शी हुँदा न्याय महङ्गो
प्रतिवेदनले कानुन व्यवसायीहरुले लिने पारिश्रमिक पारदर्शी नहुदाँ न्याय महङ्गो भएको विषयलाई समेत समस्याका रुपमा प्रतिवेदनमा औंल्याएको छ।
कानुन व्यवसायीअनुसार पारिश्रमिक लिने गरेका कारण पनि यस्तो भएको प्रतिवेदनमा उल्लेख छ। ‘कानुन व्यवसायीले लिने पारिश्रमिकवापत रसिद नदिने गरेको र करमा समेत नआउने गरेको पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘कानुन व्यवसायीले आफ्नो आम्दानीको अभिलेख राख्नुपर्ने, पक्षसँग लिएको पारिश्रमिकको अनिवार्य रूपमा रसिद दिनुपर्दछ।’
प्रतिवेदनमा गलत एवम् विचौलियाको काममा संलग्न कानुन व्यवसायीहरूलाई नेपाल बार एसोसिएसन तथा नेपाल कानुन व्यवसायी परिषद्ले कानुनको दायरामा ल्याइ कारबाही गर्नुपर्ने सुझाव पनि दिइएको छ।
विचौलियाको रुपमा रहेका कानुन व्यवसायीहरुको बारेमा दुबै संस्था जानकार रहेको, तर कानुनानुसार कारबाही हुन नसकेको प्रतिवेदनमा उल्लेख छ। कानुनलाई व्यवसाय बनाउनेभन्दा विचौलिया गर्ने अनि चलखेलका आधारमा रातारात न्याय खरिद विक्रीमा संलग्नहरुलाई शुद्धीकरण नगरे न्यायलयभित्रको विकृती कम नहुने प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।