काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन सच्याएर बुझाएको छ। असार मसान्तसम्म कार्यावधि रहेको समितिले १२ दिनको अतिरिक्त समयपछि मंगलबार प्रतिवेदन बुझाएको थियो।
तर, बुधबारको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले आज दिउँसोसम्म समय दिएर थप मिलाएर ल्याउनु भनेको थियो। सोही अनुसार आज प्रतिवेदन बुझाइएको हो। आजको प्रतिवेदनमा पनि पहिलेको प्रतिवेदनभन्दा तात्विक फरक नभएको समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए।
‘पहिलोपटक बुझाएको प्रतिवेदनभन्दा दोस्रो पटक बुझाएको प्रतिवेदनमा धेरै फरक छैन। हामीले गल्तीवश स्थगन गरिएको भनिएको दुईवटा वडाको विषय सच्याएका छौं’, पौडेलले भने, ‘अन्यत्र जहाँ विवाद र समस्या थियो अथवा फरक मत जाहेर गरिएका थिए। ती केही ठाउँका बारेमा निर्णय गरेर ल्याएका छौं। हिजोबाट आजसम्म तात्विक अन्तर केही पनि छैन। हामीले दश वटा वडा जतिमा रिभ्यू गरेको र सच्याएको स्थिति छ।’
उनका अनुसार समितिले ९६ प्रतिशत काम सकिसकेको छ। यस्तै बाँकी काम भने केन्द्रीय नेतृत्वले टुंग्याउने छ।
योसँगै क्रियाशील सदस्यताका कारण महाधिवेशन नहुने भन्ने आशंका हटेको प्रवक्ता पौडेलले जनाकारी दिए। ‘पहिलादेखि केही स्थानमा क्रियाशील विवादित हुने गरेको छ। अब महाधिवेशनको काम फास्ट ट्र्याकमा अघि बढ्नेछ,’ उनले भने। उनका अनुसार कल्याण गुरुङले राखेको ‘नोट अफ डिसेन्ट’ कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।