काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच छलफल भएको छ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबीच बिहीबार संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने लगायतका विषयमा छलफल भएको हो।
सभामुख सापकोटा र मन्त्री खाणबीच यसवर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ।
सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुन:र्स्थापनाको कार्य अघि बढाउने जानकारी दिए।
उनले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट संकलन भएर राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए।
यसवर्ष मनसुनको सुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाटो ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
गतवर्ष पनि बाढी पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।