कुलबहादुर केसी।
काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलाई हटाउन गठबन्धनबाट मुख्यमन्त्री प्रस्ताव गरिएका माओवादी केन्द्रका नेता कुलप्रसाद केसी ‘सोनाम’ र प्रदेश सभामुख पूर्ण घर्ती काठमाडौं आएका छन्।
गत शनिबार काठमाडौं छिरेका केसी र घर्ती माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्य गठबन्धनका नेताहरूसँगको भेटघाटलाई तिव्रता दिएका हुन्।
अल्पमतमा परेका पोखरेलले राजीनामा दिन आनाकानी गर्न थालेपछि गठबन्धनबाट मुख्यमन्त्री प्रस्ताव गरिएका केसी भेटघाटका लागि काठमाडौं आएको प्रदेश सभाका एक सांसदले बताए।
‘प्रस्तावित मुख्यमन्त्रीज्यू र सभामुखज्यू हप्तादिनदेखि काठमाडौंमै हुनुहुन्छ’, ती प्रदेश सभा सांसदले भने, ‘सबै राजनीतिक मिसन पूरा गरेर आउँछु भनेर केसी र सभामुखज्यूले भन्नु भएको छ।’
तर, सभामुख घर्तीका स्वकीय सचिव ध्रबुविक्रम ओलीले राजनीतिक भेटघाटसँगै उपचारका लागि काठमाडौं गएको बताए। ‘राजनीतिक मान्छे भएपछि नेताहरुसँग भेट हुँदा राजनीतिक कुरा हुनु स्वभाविकै हो। सभामुखज्यू खास ढाडको समस्या समेत भएकाले उपचार गर्न भनेर जानु भएको हो’ ओलीले भने।
गठबन्धनबाट केसीलाई माओवादीका १८ जना, कांग्रेसका १९ जना, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जनाले समर्थन गरेका छन्। केसीको पक्षमा प्रदेश सभाका ४१ जना सांसदले समर्थन गरेका छन्।
यस्तै, पोखरेलको पक्षमा ३८ जनाले मात्रै समर्थन गरेका छन्। उनलाई समर्थन गरेका जसपाका ३ सांसद कारबाहीमा परिसकेकाले उनको पक्षमा ३८ मात्रै भएको हो। ३८ जनामध्ये पनि २ जना एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन्। पोखरेलले विश्वासको मत लिए (नेपाल पक्षले साथ नदिँदा) उनको पक्षमा ३६ जना मात्रै हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।