काठमाडौं- प्रतिनिधिसभाका सांसदहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद उमा रेग्मीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरिन्। वर्तमान सरकार गठन भएयता ५ पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको भन्दै उनले आपत्ति जनाइन्। ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान अघि बढाएको सरकारले मूल्यवृद्धि गरेर के गर्न खोजेको हो?' उनले प्रश्न गरिन्।
सांसद रामबहादुर विष्टले पनि पेट्रालियम पदार्थमा मूल्यवृद्धि गर्नुको कारण संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरे। उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै आपत्ति जनाए।
त्यसैगरी सांसद शान्ता चौधरीले पश्चिम नेपालका कमलरीहरुको व्यवस्थापनका लागि सरकारले बजेटको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। उनले दाङ क्षेत्र नम्बर २ मा खानेपानीको उचित व्यवस्थापन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।