काठमाडौं– सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै दर्ता भएको पूर्वमाओवादीका चार नेताको रिटको सुनुवाइ न्यायाधीश दीपककुमार कार्कीको इजलासमा हुने भएको छ।
नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिद दर्ता गरेका थिए।
उनीहरुले परमादेशबाट सांसद पदमा पुनर्वहाली हुनुपर्ने माग गरेका छन्। आजको इजलासले परमादेशको आदेश दिएमा उनीहरु पुनः सांसद पदमा पुनर्वहाली हुनेछन्।
गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको उनीहरुको दाबी छ।
उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन्।
यसैबीच, माओवादीवाट एमाले प्रवेश गरेका कारण पार्टी कारबाहीमा परी प्रदेश सांसद पद गुमाएका रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीको रिदको सुनुवाइक्ष्समेत सोही इजलासमा हुने भएको छ। उनीहरुले पनि पद थमौतीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।