काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच छलफल भएको छ। बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो।
सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो। दुई नेताबीचको भेटमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि सहभागी भएका थिए।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।
बुधबार बसेको सत्ता गठबन्धनको बैठकले चाँडै मन्त्रिपरिषद् विस्तार गर्न सुझाव दिएको थियो। यसैबीच नेपाली कांग्रेस र जनता समाजवादी पार्टी(जसपा) ले आजै मन्त्रीहरुको टुंगो लगाउने तयारी गरेका छन्। मन्त्रीको टुंगो लागेसँगै आज वा भोलि शपथ हुन सक्ने प्रधानमन्त्री देउवा निकटका एक नेताले बताए।
देउवाले पार्टीभित्रका अन्य समूहसँग मन्त्रीका लागि नाम मागिसकेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलापक्षले आफ्नो समूहबाट ४ जना मन्त्री हुनुपर्ने माग गरेको छ। तर, प्रधानमन्त्री देउवा भने उक्त समूहका तीन जनालाई मन्त्री बनाउन तयार छन्।
जसपाले पनि मन्त्रीको टुंगो लगाउनका लागि बिहीबार ११ बजे कार्यकारिणी समितिको बैठक बोलाएको छ। सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएपनि थप छलफल गर्न बैठक बोलाइएको जसपा नेता मोहम्मद इस्तियाक राईले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा जसपाले ६ मन्त्रालय दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।