काठमाडौं- नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्षाैंसम्म भुक्तानी नदिनेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा उनले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानका विज्ञापनको बक्यौता उठ्नुपर्ने रकम तत्काल उठाउन र वर्षौंसम्म बेरुजु नराख्न निर्देशन दिए।
'विज्ञापन दिएर नतिर्नेलाई समयमा काम नगर्ने ठेकेदारलाई झैँ पाता फर्काइन्छ। सुशासनमा कुनै सम्झौता हुँदैन। अनुगमनको नाममा छड्के गरेर तस्बिर छपाउने पक्षमा म छैन,' मन्त्री बाँस्कोटाले भने, 'त्यो काम प्राविधिक समूहले गर्छ। मलाई कसले कहाँ के गरेको छ, सबै सूचना आएको हुन्छ। मैले गर्नुपर्ने कारबाही टेबुलबाटै गर्छु।'
काठमाडौँ उपत्यकाकै कतिपय स्थानमा नेपाल टेलिकमको टावर नटिप्ने समस्या कायमै रहनु र सूचना विभागको नयाँ डायरी जेठ तेस्रो सातासम्म पनि प्रकाशन नहुनुले कामको प्रभावकारिता नदेखिएको उनले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।